काठमाडौं । सरकारले आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा
गर्ने तयारी अघि बढाएको छ । निर्वाचन आयोगसँगको परामर्शपछि सरकारले निर्वाचनको
मिति तोक्ने प्रक्रिया अगाडि बढाएको हो ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित
जनप्रतिनिधिको कार्यकाल २०७९ जेठ ५ गतेदेखि सुरु भएको थियो । कानुनी
व्यवस्थाअनुसार कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै नयाँ निर्वाचन सम्पन्न
गर्नुपर्ने भएकाले आगामी चैत ५ गतेभित्र निर्वाचन गरिसक्नुपर्ने आयोगको सुझाव छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार
स्थानीय तह निर्वाचन सम्पन्न गर्न कानुनले १२० दिन अर्थात् चार महिनाको समय
निर्धारण गरेको छ । सोही व्यवस्थालाई ध्यानमा राख्दै आयोगले सरकारलाई चैत महिनाको
उपयुक्त मिति प्रस्ताव गरेको हो ।
चैत ५ गतेभित्र निर्वाचन सम्पन्न गर्ने लक्ष्यअनुसार
सरकारले मंसिर पहिलो साताभित्रै मन्त्रिपरिषद्बाट निर्वाचनको मिति घोषणा
गर्नुपर्ने देखिएको छ ।
यसअघि निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूसँग परामर्श
गरिसकेको आयोगले सरकारलाई आवश्यक सुझावसमेत दिइसकेको छ । राष्ट्रिय स्वतन्त्र
पार्टीका सभापति रवि लामिछाने फर्किएपछि प्रधानमन्त्रीले आवश्यक राजनीतिक परामर्श
गरी निर्वाचनको मिति टुंग्याउने तयारी गरेको बताइएको छ ।