मङ्गल, १७ कात्तिक २०८३ / November 3, 2026, Tuesday
मङ्गल, १७ कात्तिक २०८३
Advertisement
banner add

पाँचपोखरीमा सडक कालोपत्रेको सुरुवात, अध्यक्ष लामाले गरे शिलान्यास

banner add
writter
मङ्गल, १७ कात्तिक २०८३
(Shares)

सिन्धुपाल्चोक । सीमित आर्थिक स्रोत र बजेट अभावका चुनौतीबीच सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले पहिलोपटक सडक कालोपत्रे गर्ने काम अघि बढाएको छ। वर्षौंदेखि सडक स्तरोन्नति र कालोपत्रेको प्रतीक्षामा रहेका स्थानीयका लागि गाउँपालिकाको यो पहल पूर्वाधार विकासको नयाँ सुरुवात बनेको छ।

गाउँपालिकाका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थितिमा आज मेलम्ची–तिपेनी–भोताङ सडकखण्डअन्तर्गत गाउँपालिकाको गेट आसपास र गाइपाइले क्षेत्रबाट कालोपत्रे कार्यको शुभारम्भ गरिएको हो।

गाउँपालिकाको आन्तरिक आम्दानी न्यून हुनुका साथै सडक निर्माणका लागि विभिन्न निकायबाट पटक–पटक आश्वासन मात्रै प्राप्त भएपछि उपलब्ध स्रोतसाधनकै उपयोग गरेर काम सुरु गरिएको अध्यक्ष टासी लामाले बताउनुभयो। सीमित बजेटका बाबजुद स्थानीय पूर्वाधार विकास र सडक सुधारलाई प्राथमिकतामा राखेर कालोपत्रे कार्य अघि बढाइएको उहाँको भनाइ छ।

निर्माणको जिम्मेवारी पाएको भदौरे गणेश निर्माण सेवाले आगामी चैत महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण प्रक्रिया अगाडि बढाएको छ। निर्माण व्यवसायी राम नेपालका अनुसार सडक कालोपत्रेका लागि २ करोड ८० लाख रुपैयाँमा सम्झौता भएको छ।

गाउँपालिकाका अनुसार पहिलो चरणमा करिब एक किलोमिटर सडक कालोपत्रे गरिनेछ। प्रारम्भिक रूपमा गाउँपालिकाको गेट आसपास र गाइपाइले क्षेत्रलाई कार्यक्षेत्र बनाएर निर्माण सुरु गरिएको हो।

मेलम्ची–तिपेनी–भोताङ सडक पाँचपोखरी थाङपाललाई जिल्ला सदरमुकाम तथा अन्य क्षेत्रसँग जोड्ने महत्वपूर्ण मार्ग हो। धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी पुग्ने प्रमुख सडकसमेत भएकाले यसको स्तरोन्नतिले स्थानीयको आवागमन सहज बनाउनुका साथै पर्यटन व्यवसाय र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

वर्षौंदेखि सडक कालोपत्रेको आशामा रहेका स्थानीयका लागि एक किलोमिटरबाट सुरु भएको यो काम आफैँमा महत्वपूर्ण उपलब्धि बन्न सक्छ। यद्यपि, प्रारम्भिक चरणको कामलाई समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्दै आगामी दिनमा सडक कालोपत्रेको दायरा विस्तार गर्नु गाउँपालिकाका लागि अर्को चुनौती हुनेछ। सीमित आन्तरिक आम्दानीका बीच सुरु गरिएको यो प्रयासले विकासका लागि स्रोतको अभाव देखाएर मात्र पछि हट्नुपर्दैन भन्ने सन्देशसमेत दिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर