मङ्गल, १० कात्तिक २०८३ / October 27, 2026, Tuesday
मङ्गल, १० कात्तिक २०८३
Advertisement
banner add

चक्रवाती आँधी ‘अर्नाब’ तीव्र बन्दै

banner add
writter
मङ्गल, १० कात्तिक २०८३
(Shares)

काठमाडौँ । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवाती आँधी ‘अर्नाब’ भारतको पूर्वी तटतर्फ अघि बढिरहेको छ। भारतीय मौसम विज्ञान विभाग (IMD) का अनुसार आँधी अक्टोबर २८ अर्थात् बुधबार बिहान आन्ध्र प्रदेश र यानामको तटीय क्षेत्रमा बापट्ला र विशाखापट्टनमबीच जमिनमा ठोक्किने सम्भावना छ।

आँधी जमिनमा प्रवेश गर्दा प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरको निरन्तर हावाको गति र अधिकतम १४० किलोमिटरसम्मको झोक्कासहितको हावा चल्न सक्ने अनुमान गरिएको छ। यसले आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा भारी वर्षा, समुद्री छाल र तल्लो भूभागमा डुबानको जोखिम बढाएको छ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को सम्भावित प्रभावले नेपालमा पनि मौसम प्रतिकूल बन्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न भागमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना औँल्याएको छ। विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा तथा हावाहुरीको जोखिम देखिएकाले समयमै सतर्कता अपनाउनु आवश्यक छ।

नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेको मुलुक हो। मनसुन सकिएपछि मौसम सामान्य बन्दै गएको ठानिने समयमा पनि चक्रवातको बाह्य प्रभावले जनजीवन प्रभावित हुन सक्छ। भारी वर्षा हुँदा नदी तथा खोलामा पानीको सतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक अवरुद्ध हुने र हवाई यातायात प्रभावित हुने सम्भावना रहन्छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम थप गम्भीर बन्न सक्छ।

यस्तो अवस्थामा विपद् आएपछि उद्धार गर्ने तयारी मात्रै पर्याप्त हुँदैन। विपद् आउनुअघि नै जोखिम पहिचान गर्ने, नागरिकलाई समयमै सूचना दिने र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउनुपर्छ। संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र विपद् व्यवस्थापनसम्बन्धी निकायबीच प्रभावकारी समन्वय हुन आवश्यक छ।

भारी वर्षाको सम्भावनाले किसानलाई पनि चिन्तित बनाएको छ। खेतमा पाकेको धानबाली भित्र्याउने समयमा वर्षा भए उत्पादनमा क्षति पुग्न सक्छ। त्यसैले किसानलाई मौसमको पूर्वानुमानअनुसार कृषि उपज सुरक्षित गर्न आवश्यक सूचना र सहयोग उपलब्ध गराउनुपर्छ। जोखिमयुक्त स्थानमा रहेका बस्ती, नदी किनारका घरपरिवार र पहिरोको सम्भावना भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष प्राथमिकतामा राख्नुपर्छ।

 

यससँगै नागरिकले पनि आफ्नो जिम्मेवारी बुझ्न आवश्यक छ। मौसम प्रतिकूल हुने समयमा अनावश्यक यात्रा नगर्ने, नदी तथा खोलाको बहाव बढेको अवस्थामा किनारमा नजाने, जोखिमयुक्त सडक र पदमार्ग प्रयोग नगर्ने तथा आधिकारिक सूचनालाई ध्यान दिने बानी बसाल्नुपर्छ। हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटक र पदयात्रीले मौसमको अवस्था नबुझी यात्रा गर्नु हुँदैन।

विपद् व्यवस्थापनमा पूर्वसूचना प्रणालीको प्रभावकारिता अत्यन्त महत्त्वपूर्ण हुन्छ। सूचना जारी गर्नु मात्रै पर्याप्त हुँदैन; त्यो सूचना जोखिममा रहेका नागरिकसम्म समयमै पुग्नुपर्छ। स्थानीय तहले आफ्नो क्षेत्रका जोखिमयुक्त स्थान पहिचान गरी उद्धार टोली, सुरक्षित आश्रयस्थल र आपत्कालीन सामग्रीको तयारी गर्नुपर्छ। विपद् आएपछि मात्रै सक्रिय हुने प्रवृत्तिको अन्त्य आवश्यक छ।

चक्रवात ‘अर्णव’ को सम्भावित प्रभावलाई सामान्य मौसमी परिवर्तनका रूपमा लिएर बेवास्ता गर्नु उचित हुँदैन। तर अनावश्यक त्रास फैलाउनु पनि समाधान होइन। वैज्ञानिक पूर्वानुमान, आधिकारिक सूचना, प्रभावकारी समन्वय र नागरिकको सचेतनाबाट जोखिम न्यूनीकरण गर्न सकिन्छ। सरकारले सम्भावित जोखिमलाई गम्भीरतापूर्वक लिएर आवश्यक पूर्वतयारी गर्नुपर्छ। नागरिकको ज्यान, कृषि उपज र सार्वजनिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्नु नै अहिलेको प्राथमिकता हुनुपर्छ।

ads
ads
add
banner add

सम्बन्धित खबर