काठमाडौं । एम.भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेका छन्।
२०८३ साल भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र पहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै एम.भी. दुगड ग्रुप परिवारले मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता नागरिकको सकुशल उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
ग्रुपका अनुसार एम.भी. दुगड ग्रुप तथा यसको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोगसमेत समेटेर कुल १ करोड ११ लाख रुपैयाँको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रयोजनका लागि अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो।
उक्त चेक ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले हस्तान्तरण गरेका हुन्।
ग्रुपले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको जनाएको छ। विपद्को सामना गर्न नेपाल सरकारसँग हातेमालो गर्दै मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्न ग्रुप प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
तीन लाखभन्दा बढी बिरुवा रोपेको दाबी
जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण यस्ता प्राकृतिक विपद्को जोखिम बढिरहेको विज्ञहरूको मत रहेको सन्दर्भमा ग्रुपले २०७८ सालदेखि देशव्यापी वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
ग्रुपका अनुसार हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बिरुवा रोपिएको छ। यस्तै, ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्ड तथा विभिन्न विद्यालय, प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका बिरुवा रोपेर संरक्षण गर्ने काम गरिएको छ।
ग्लोबल वार्मिङको असर न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले सञ्चालन गरिएको वृक्षारोपण कार्यक्रमलाई आगामी दिनमा पनि उच्च प्राथमिकताका साथ निरन्तरता दिने ग्रुपले जनाएको छ।