काठमाडौं – काठमाडौं प्रहरीले पछिल्ला वर्षमा देखिएका हत्या प्रकरणहरूलाई अनुसन्धान गर्दै २५ वटै घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर शतप्रतिशत सफलता हासिल गरेको घोषणा गरेको छ ।
राजधानीमा अपराध बढेको भन्ने जनधारणा बीच काठमाडौं प्रहरीले गत आर्थिक वर्षमा हत्या अनुसन्धानको क्षेत्रमा अभूतपूर्व सफलता हात पारेको छ। आ.व. २०८१/८२ मा दर्ता भएका २५ वटै हत्या प्रकरण सुल्झाउन सफल भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन्।यो प्रहरी संगठनको दक्षता, प्रतिबद्धता र निरन्तर प्रयासको महत्वपूर्ण उदाहरण हो ।
हत्या जस्ता गम्भीर आपराधिक घटनामा दोषीलाई पत्ता लगाउनु केवल प्राविधिक अनुसन्धान वा अनुसन्धान अधिकृतको मेहनत मात्र नभई सम्पूर्ण संयन्त्रको सामूहिक लगन र पारदर्शितामा आधारित हुन्छ । यसपटक प्रहरीले देखाएको सक्रियता र परिणामले जनमानसमा विश्वास बढाएको छ कि अपराध जे जस्तो भए पनि न्यायबाट उम्कन सकिँदैन ।
यस्तो उपलब्धिले प्रहरीको मनोबल मात्र उकास्दैन, अपराध गर्न सक्ने सम्भावित व्यक्तिहरूलाई पनि चेतावनी दिन्छ । तर, सफलता दिगो बनाउन प्रहरीले घटनापछि मात्र होइन, अपराध रोकथामतर्फ पनि समान ध्यान दिनुपर्ने हुन्छ ।
समुदायसँग सहकार्य, आधुनिक प्रविधिको प्रयोग, अपराध अनुसन्धानमा निरन्तर तालिम र निष्पक्ष कानुनी प्रक्रिया सुनिश्चित गर्नु नै आगामी दिनमा पनि यस्तै सफलता कायम राख्ने आधार बन्नेछ ।
यसरी, काठमाडौं प्रहरीले देखाएको शतप्रतिशत सफलता प्रशंसनीय छ तर यसलाई निरन्तरता दिने जिम्मेवारी अझ ठूलो छ ।
भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको नेतृत्वमा महाराजगञ्जदेखि थानकोट, कालिमाटी, बौद्ध, बानेश्वर, स्वयम्भू, लैनचौर, जनसेवा, सिंहदरबार, गौशाला र कीर्तिपुरसम्मका प्रहरी वृत्तहरूले दिनरात खटेर अनुसन्धान अघि बढाए। घटनाको सूचना आउनासाथ प्रहरी टोली परिचालित भयो, घटनास्थल सुरक्षित पारियो, प्रारम्भिक मुचुल्का तयार गरियो र CCTV तथा मोबाइल डाटा तुरुन्तै संकलन गरियो। सुरुवाती घण्टामै सूचनाको आधार मजबुत बनाएपछि अनुसन्धानलाई सही दिशामा लैजान सजिलो भएको प्रहरीको भनाइ छ।