शनि, १२ मंसिर २०८३ / November 28, 2026, Saturday
शनि, १२ मंसिर २०८३
Advertisement
banner add

स्थानीय तहका वेबसाइट बन्द, नागरिकको सूचनाको हकप्रति कसैलाई छैन चासो !

banner add
writter
शुक्र, ११ मंसिर २०८३
(Shares)

काठमाडौँ । स्थानीय सरकारलाई जनताको सबैभन्दा नजिकको सरकार भनिन्छ। संविधानले स्थानीय तहलाई व्यापक अधिकार दिएको छ। नागरिकका दैनिक सेवा, विकास निर्माण, बजेट, नीति तथा कार्यक्रमदेखि सार्वजनिक जवाफदेहितासम्मका महत्वपूर्ण जिम्मेवारी स्थानीय सरकारकै काँधमा छन्। तर विडम्बना ! नागरिकलाई सूचना उपलब्ध गराउनुपर्ने स्थानीय तहका आधिकारिक वेबसाइट नै बन्द छन्। कतिपय वेबसाइट खुल्दैनन्, खुले पनि आवश्यक सूचना भेटिँदैनन्। कतिपयमा वर्षौँ पुराना विवरण राखिएका छन्। यस्तो अवस्था देख्दा प्रश्न उठ्छ! स्थानीय सरकार नागरिकप्रति साँच्चिकै जवाफदेही छन् ?

सूचना प्रविधिको युगमा सरकारी वेबसाइट केवल प्रचारप्रसारको माध्यम होइन, यो सार्वजनिक जवाफदेहिता, पारदर्शिता र नागरिकको सूचनाको हक सुनिश्चित गर्ने महत्वपूर्ण डिजिटल माध्यम हो। स्थानीय तहले पारित गरेका नीति, ऐन, नियमावली, बजेट, योजना, खर्च विवरण, ठेक्का सम्झौता, सार्वजनिक खरिद, कर्मचारी विवरण, निर्णय तथा सेवा प्रवाहसम्बन्धी जानकारी नागरिकले सहजै प्राप्त गर्न पाउनुपर्छ। तर वेबसाइट नै बन्द भएपछि नागरिकले सूचना कहाँबाट प्राप्त गर्ने ?

नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक सुनिश्चित गरेको छ। सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सार्वजनिक निकायलाई सूचना सार्वजनिक गर्ने र नागरिकलाई सूचना उपलब्ध गराउने दायित्वसमेत तोकेको छ। त्यसैले सरकारी वेबसाइट सञ्चालन गर्नु केवल प्राविधिक विषय मात्र होइन, यो कानुनी तथा संस्थागत जिम्मेवारी पनि हो।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA), वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) र स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (LGPAS), २०८२ जस्ता प्रणालीमार्फत स्थानीय सरकारको क्षमता, वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिताको मूल्याङ्कन गर्ने अभ्यास भइरहेको छ। स्थानीय सरकारलाई सक्षम, पारदर्शी, जवाफदेही र परिणाममुखी बनाउने उद्देश्य राखिएको छ। तर आफ्नै आधिकारिक वेबसाइट नियमित सञ्चालन गर्न नसक्ने स्थानीय सरकारको संस्थागत क्षमता र डिजिटल सुशासनमाथि गम्भीर प्रश्न उठ्नु स्वाभाविक हो।

अझ दुःखद पक्ष के छ भने वेबसाइट बन्द हुँदा त्यसको जिम्मेवारी कसले लिने भन्ने स्पष्ट जवाफ पाइँदैन। जनप्रतिनिधिलाई आफ्नो कार्यकालको प्रचार र उपलब्धि सार्वजनिक गर्न सामाजिक सञ्जाल प्रयोग गर्न रुचि हुन्छ। तर पालिकाको आधिकारिक वेबसाइटमा नागरिकले खोजेको सूचना अद्यावधिक गर्ने विषयमा भने पर्याप्त चासो देखिँदैन। सूचना प्रविधि शाखा, प्रशासनिक नेतृत्व र जनप्रतिनिधिबीच जिम्मेवारी पन्छाउने प्रवृत्तिले समस्या झन् जटिल बनेको छ।

वेबसाइट बन्द हुनुको कारण प्राविधिक समस्या, डोमेन नवीकरण नगर्नु, होस्टिङ शुल्क नतिर्नु, साइबर सुरक्षा समस्या वा व्यवस्थापनको कमजोरी जे पनि हुन सक्छ। तर कारण जे भए पनि नागरिकले सरकारी सूचना प्राप्त गर्न नपाउने अवस्था स्वीकार्य हुन सक्दैन। सामान्य प्राविधिक समस्या समाधान गर्न नसक्ने स्थानीय सरकारले डिजिटल सेवा प्रवाह र सुशासनको ठूलो सपना कसरी पूरा गर्छन् ?

स्थानीय सरकारको वेबसाइट बन्द हुँदा सबैभन्दा बढी प्रभावित हुने नागरिक नै हुन्। कुनै योजनाको बजेट कति छ, ठेक्का कसले पायो, काम सम्पन्न भयो कि भएन, कर तथा राजस्वका दर के छन्, कुन सेवा कसरी प्राप्त गर्ने, सार्वजनिक सुनुवाइ कहिले हुँदैछ भन्ने जानकारी खोज्ने नागरिक निराश भएर फर्किनुपर्ने अवस्था छ। पत्रकार, अनुसन्धानकर्ता, नागरिक समाज र सार्वजनिक सरोकारका विषयमा चासो राख्ने व्यक्तिहरूलाई समेत आधिकारिक सूचना प्राप्त गर्न कठिन भइरहेको छ। यसले पारदर्शिता कमजोर बनाउनुका साथै अनियमितता लुकाउने वातावरणसमेत सिर्जना गर्न सक्छ।

स्थानीय तहका वेबसाइट बन्द हुनु सामान्य प्राविधिक कमजोरी मात्र होइन, यो सार्वजनिक सूचनाको पहुँच र लोकतान्त्रिक जवाफदेहितासँग जोडिएको विषय हो। नागरिकले कर तिरेर सञ्चालन गरेका सरकारी निकायले आफ्नै सूचना प्रणाली व्यवस्थित राख्न नसक्नु राज्यप्रतिको विश्वास कमजोर बनाउने कारण बन्न सक्छ।

अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय सूचना आयोग र सम्बन्धित निकायले स्थानीय तहका वेबसाइटको अवस्थाबारे अनुगमन गर्नुपर्छ। कुन पालिकाको वेबसाइट सञ्चालनमा छ, कुन बन्द छ, कुनमा सूचना अद्यावधिक छैन र किन यस्तो अवस्था सिर्जना भयो भन्ने विषयमा तथ्यगत अध्ययन आवश्यक छ। वेबसाइट बन्द राख्ने, सूचना अद्यावधिक नगर्ने र नागरिकको सूचनाको हकलाई बेवास्ता गर्ने निकायको जिम्मेवारीसमेत निर्धारण गरिनुपर्छ।

स्थानीय सरकारको सफलता भवन, गेट, सभा हल र सडक निर्माणले मात्र मापन हुँदैन। नागरिकले आफ्नो सरकारका निर्णय, बजेट, खर्च र कामकारबाहीबारे सहजै जानकारी पाउन सक्ने वातावरण निर्माण गर्नु पनि सुशासनको महत्वपूर्ण आधार हो। डिजिटल सुशासनको भाषण गर्ने तर सरकारी वेबसाइटसमेत सञ्चालन गर्न नसक्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ।

ads
ads
add
banner add

सम्बन्धित खबर