शनि, १२ मंसिर २०८३ / November 28, 2026, Saturday
शनि, १२ मंसिर २०८३
Advertisement
banner add

धनगढीमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन

banner add
writter
शुक्र, ११ मंसिर २०८३
(Shares)

धनगढी । धनगढी उपमहानगरपालिकाले स्वास्थ्यजन्य जोखिमयुक्त फोहोर व्यवस्थापनका लागि छुट्टै प्रशोधन तथा निर्मलीकरण केन्द्र सञ्चालनमा ल्याएको छ। करिब साढे दुई करोड रुपैयाँको लगानीमा धनगढी–२, बैयाबेहडीमा स्थापना गरिएको केन्द्रको शुक्रबार वडा अध्यक्ष धर्मराज ओझाले उद्घाटन गरेका हुन्।

केन्द्रमा स्वास्थ्यजन्य फोहोर प्रशोधन तथा निर्मलीकरणका लागि तीनवटा मेसिन जडान गरिएको छ। अस्पताल तथा स्वास्थ्य संस्थाबाट फोहोर संकलन गर्न छुट्टै गाडीको समेत व्यवस्था गरिएको उपमहानगरपालिकाका वातावरण तथा सरसफाइ शाखा प्रमुख अशोकराज अवस्थीले जानकारी दिए।

निर्मलीकरणपछि पुनःप्रयोग गर्न मिल्ने सामग्री बिक्री गरिने र अन्य फोहोर सुरक्षित रूपमा व्यवस्थापन गरिने उपमहानगरको योजना छ। अस्पताल तथा स्वास्थ्य संस्थाले उत्पादन गर्ने फोहोरको प्रकार र परिमाणका आधारमा प्रतिकिलो शुल्क निर्धारण गरिएको छ।

उपमहानगरले सोही स्थानमा साढे तीन वर्षदेखि सञ्चालन गर्दै आएको फोहोरमैला सूक्ष्म वर्गीकरण केन्द्रबाट प्लास्टिक, कागज र गत्तालगायत सामग्री बिक्री गरी वार्षिक ७५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख गोपाल हमालले फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले धनगढीलाई शून्य फोहोरको सहर बनाउने लक्ष्य रहेको उल्लेख गर्दै पटेलामा एक अर्ब रुपैयाँभन्दा बढी लागतमा निर्माण भइरहेको आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। उक्त केन्द्र सञ्चालनमा आएपछि नगरको फोहोर व्यवस्थापन थप सहज हुने उनको भनाइ छ।

ads
ads
add
banner add

सम्बन्धित खबर