दाङ । दाङको देउखुरीस्थित राप्ती
गाउँपालिकाले करार सेवामा विभिन्न प्राविधिक पदमा कर्मचारी नियुक्तिका लागि
दरखास्त आह्वान गरेको छ। गाउँ
कार्यपालिकाको कार्यालय तथा राप्ती आधारभूत अस्पतालमा रिक्त रहेका पदहरू खुला
प्रतिस्पर्धाबाट पूर्ति गर्न गाउँपालिकाले कर्मचारी माग गरेको हो।
गाउँपालिकाले प्रकाशित गरेको
सूचनाअनुसार आठौँ तहको मेडिकल अधिकृत पदमा दुई जना माग गरिएको छ। त्यस्तै, पाँचौँ तहअन्तर्गत स्टाफ नर्स, हेल्थ असिस्टेन्ट र मनोसामाजिक परामर्शकर्ता पदमा एक/एक जना
गरी कुल पाँच जना कर्मचारी माग गरिएको छ।
मेडिकल अधिकृत पदमा आवेदन दिन
मान्यताप्राप्त शिक्षण संस्थाबाट एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा
दर्ता भएको हुनुपर्नेछ। स्टाफ नर्स तथा हेल्थ असिस्टेन्टका लागि सम्बन्धित विषयमा
प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित परिषद्मा दर्ता भएको योग्यता आवश्यक पर्नेछ।
मनोसामाजिक परामर्शकर्ता पदका लागि स्वास्थ्य, मनोविज्ञान, समाजशास्त्रलगायत विषयमा तोकिएको
शैक्षिक योग्यता, आवश्यक तालिम तथा
कम्प्युटरसम्बन्धी ज्ञान भएको हुनुपर्ने गाउँपालिकाले जनाएको छ।
उमेरको हकमा मेडिकल अधिकृतका लागि २१
वर्ष पूरा भई ४५ वर्ष ननाघेको तथा अन्य पदका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
हुनुपर्नेछ। दरखास्त दस्तुर मेडिकल अधिकृतका लागि एक हजार दुई सय रुपैयाँ र अन्य
पदका लागि छ सय रुपैयाँ तोकिएको छ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित गाउँपालिकाको कार्यालयमा दरखास्त पेस गर्नुपर्नेछ। दरखास्तसँग राजस्व तिरेको रसिद, शैक्षिक योग्यताका प्रमाणपत्र, नागरिकता, सम्बन्धित काउन्सिलको दर्ता प्रमाणपत्र तथा अनुभवका कागजात संलग्न गर्नुपर्नेछ।
कर्मचारी छनोट प्रक्रिया लिखित
परीक्षा र अन्तर्वार्तामार्फत गरिनेछ। परीक्षाको पाठ्यक्रम लुम्बिनी प्रदेश लोक
सेवा आयोगले निर्धारण गरेबमोजिम हुने र परीक्षा सञ्चालनको मिति पछि सार्वजनिक
गरिने गाउँपालिकाले जनाएको छ। छनोट भएका कर्मचारीले गाउँपालिकाको नियमअनुसार सेवा सुविधा पाउनेछन्।