काठमाडौँ । बालबालिकाको स्वास्थ्य सुदृढीकरणका लागि आज र भोलि देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सञ्चालन हुँदैछ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत पोषण शाखाको समन्वयमा सञ्चालन हुने यो अभियान अन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते नेपालमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ। तर, यस वर्ष कात्तिक २ र ३ गते तिहार पर्व परेकाले स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको हो।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले आज र भोलि देशका ७५३ स्थानीय तहमै पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी दिए।
यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
छ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि पनि खुवाइन्छ।
भिटामिन ‘ए’ ले बालबालिकामा दृष्टि समस्या, रोगसँग लड्ने क्षमता कमजोर हुने र मृत्यु दर बढ्ने जोखिम घटाउँछ भने जुकाको औषधिले शरीरमा पोषणको अवशोषण क्षमता बढाई रक्तअल्पता र कुपोषण घटाउने गर्दछ।
स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय सरकारको सहकार्यमा सामुदायिक स्तरमै अभियान सञ्चालन भइरहेको छ। अभिभावकलाई आफ्ना बालबालिकालाई निर्धारित उमेरअनुसारको डोज समयमै खुवाउन स्वास्थ्य शाखाले अनुरोध गरेको छ।
स्वास्थ्य विज्ञका अनुसार वर्षमा दुई पटक सञ्चालन हुने यो अभियानले बालस्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम देशव्यापी रूपमा सञ्चालन भइरहेका छन्। हरेक वर्ष दुईपटक सञ्चालन हुने यो अभियानले बालबालिकाको पोषण सुधार र स्वास्थ्य सुदृढीकरणमा महत्त्वपूर्ण योगदान दिएको छ।