मङ्गल, ११ कात्तिक २०८२ / October 28, 2025, Tuesday
मङ्गल, ११ कात्तिक २०८२
Advertisement
banner add

जनता र प्रहरीबीच सहकार्य अपरिहार्यः एसएसपी रमेश थापा

writter
बुध, २२ असोज २०८२
(Shares)

काठमाडौँ । प्रहरीको मुख्य दायित्व शान्ति, सुरक्षा र कानूनी शासनको स्थापना हो। तर यो दायित्व प्रभावकारी रूपमा पूरा गर्न प्रहरी मात्र पर्याप्त हुँदैन, त्यसका लागि नागरिक समाजको सक्रिय सहकार्य अत्यावश्यक हुन्छ। यही सन्देश एसएसपी रमेश थापाले हालै व्यक्त गरेका छन्।

काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले तिनकुने प्रहरी वृत्त क्षेत्रमा पर्ने सामाजिक संघ–संस्थाका अगुवा, टोलवासी तथा नयाँ बानेश्वर प्रहरी वृत्तका प्रहरी कर्मचारीहरूसँगको भेटमा जनता र प्रहरी मिलेर अघि बढ्नुपर्ने सुझाव दिए।

थापाको अनुसार अपराध नियन्त्रणदेखि समुदायमा विश्वास निर्माणसम्म प्रहरी र जनताबीचको पारस्परिक सम्बन्धको भूमिका केन्द्रीय छ। जब जनता प्रहरीमाथि भरोसा गर्छन्, प्रहरीलाई सूचना, सल्लाह र सहयोग सहज रूपमा प्राप्त हुन्छ। यसरी सहकार्यको वातावरणले अपराध रोकथाम मात्र होइन, सामाजिक सद्भाव पनि सुदृढ गर्छ।

तिनकुने प्रहरी वृत्त भवन पुनःस्थापना समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै एसएसपी थापाले जनता, समाज र प्रहरीबीच सहकार्यको कुनै विकल्प नभएको उल्लेख गरे। उनले प्रहरी सेवाको गुणस्तर अभिवृद्धि गर्न तथा चुनौतीपूर्ण अवस्थासँग सामना गर्न प्रहरी कर्मचारीको मनोबल उच्च राख्नुपर्नेमा पनि जोड दिए।

तर,  यस्ता सम्बन्ध कायम राख्न प्रहरी आफैं पनि उत्तरदायी, पारदर्शी र जनमैत्री हुन आवश्यक छ। दुर्व्यवहार, अनावश्यक हस्तक्षेप वा राजनीतिक प्रभावले प्रहरीमाथिको विश्वास कमजोर बनाउँछ। त्यसैले प्रहरी संस्थाले सेवाभाव, व्यावसायिकता र मानवअधिकारप्रतिको संवेदनशीलता अंगिकार गर्नुपर्छ।

जनता र प्रहरीबीचको सहकार्यले मात्र “सुरक्षित समाज” को सपना पूरा गर्न सकिन्छ। थापाको भनाइले प्रहरी सेवाको मूल आत्मा  जनताको सुरक्षा जनताकै सहभागितामा  स्मरण गराउँछ। अब जिम्मेवारी दुबै पक्षमा छ । प्रहरीले विश्वास कमाउने, र जनताले त्यसलाई सुदृढ बनाउने।

ads

सम्बन्धित खबर