स्थानीय सरोकार /उदयपुर: उदयपुरको त्रियुगा नगरपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको औपचारिक रुपमा उद्घाटन गरिएको छ। त्रियुगा नगरपालिका–१० बोक्सेको बाँसबारीमा नवनिर्मित भवनको सोमबार नगरप्रमुख बसन्तकुमार बस्नेतले उद्घाटन गरेका हुन्।
त्रियुगा नगरपालिकाले आफ्नो नवनिर्मित प्रमुख प्रशासकीय भवनलाई औपचारिक रूपमा उद्घाटन गर्दै प्रशासनिक सेवा प्रवाहमा दीर्घकालीन सुधारतर्फ महत्त्वपूर्ण कदम चालेको छ।
भवन उद्घाटनसँगै त्रियुगा–११ गाईघाट बजारमा रहेको नगर कार्यपालिकाको कार्यालय पनि नयाँ भवनमा सरिसकेको छ, जसले नगरपालिकाको सेवालाई अब एकीकृत, सहज र व्यवस्थित रूपमा उपलब्ध गराउने अपेक्षा बढाएको छ।
नगरप्रमुख बस्नेतका अनुसार भवन अपाङमैत्री र बालमैत्री रूपमा डिजाइन गरिएको छ, जुन समावेशी सार्वजनिक संरचना निर्माणतर्फ नगरपालिकाका सकारात्मक प्राथमिकताहरूको स्पष्ट संकेत हो। आधुनिक विद्युतीय लिफ्ट, अन्डर पार्किङ, पर्याप्त खुला स्थान र सर्वसुलभ पहुँचयुक्त संरचनाले अब सबै वर्ग समुदायका नागरिकले कुनै अवरोध बिना सेवा लिन सक्ने वातावरण तयार भएको छ।
यसअघि पुरानो भवन सानो र अपर्याप्त भएकै कारण दुई स्थानबाट सेवा प्रवाह गर्ने बाध्यता थियो। विभाजित सेवा संरचनाकै कारण नागरिकले झन्झट, ढिलाइ र अनावश्यक भ्रमको सामना गर्नुपरेको थियो। तर अब शाखा तथा सेवा एकै स्थानबाट उपलब्ध हुने व्यवस्था आएपछि प्रशासनिक कार्य सहज, छरितो र पारदर्शी बन्नेमा शंका छैन।
वि.स. २०७८ सालमा तत्कालीन नगरप्रमुख बलदेव चौधरीद्वारा शिलान्यास गरिएको यो भवन ज्ञान ज्योती बिल्डर्स प्रालि (काभ्रे)ले निर्माण गरेको हो। चारतले ८४ कोठायुक्त आधुनिक भवन रु १२ करोड २६ लाख ३९ हजार २९३ रुपैयाँ लागतमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत कुमार कोइरालाले बताए। यस भवनमा अब नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत सबै शाखाका कार्यालयहरू सुव्यवस्थित रूपमा रहने छन्। सुविधा सम्पन्न कार्यकक्ष र सभा हलले प्रशासनिक निर्णय प्रक्रियालाई अझ सक्षम र प्रभावकारी बनाउनेछ।
यद्यपि भवनको आधुनिकता र संरचनागत मजबुती प्रशंसनीय भए पनि, यसको वास्तविक मूल्यांकन नागरिकले पाउने सेवाको गुणस्तरले नै गर्नेछ। अब चुनौती हो । यस भौतिक पूर्वाधारलाई नागरिक मैत्री सेवा, समयबद्धता, पारदर्शिता र सुशासनसँग कसरी जोडिन्छ । भन्ने। नयाँ भवन प्रशासनिक सुधारको आधार हो; तर सुशासन सुनिश्चित गर्ने जिम्मेवारी अझै नेतृत्व र संस्थागत संस्कृतिमै रहन्छ।
त्रियुगा नगरपालिकाले नयाँ प्रशासकीय भवनलाई एक माइलस्टोन मात्र नभई नागरिक विश्वास पुनःस्थापना गर्ने अवसरको रूपमा उपयोग गरोस्। अवरोध रहित पहुँच, एकीकृत सेवा, व्यवस्थित व्यवस्थापन र जर्गेलो प्रशासनिक प्रणालीको विकास यही नयाँ भवनको वास्तविक उद्देश्य हुनुपर्छ।
त्रियुगा नगरपालिकाले हालसालै आफ्नो नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्दै स्थानीय शासनलाई आधुनिक, सरल र नागरिकमैत्री बनाउने दिशामा महत्त्वपूर्ण कदम चालिएको सन्देश दिएको छ।
कुनै पनि नगरपालिका वा स्थानीय तहका लागि भौतिक संरचना केवल भवन मात्र होइन, सेवाप्रदायक र सेवाग्राहीबीचको सम्पर्क, विश्वास र पारदर्शिताको माध्यमसमेत हो। यिनै अर्थमा हेर्दा, यो नयाँ भवन त्रियुगाका नागरिकका लागि अपेक्षा र सम्भावनाको प्रतीक बन्न सक्छ।
नयाँ प्रशासकीय भवनको निर्माणले नगरपालिकालाई विगतमा भोग्नुपरेका विभिन्न प्रशासनिक चुनौतीहरू जस्तै सेवा पाउन लामो समय कुर्नु पर्ने अवस्था, चापको कारण कर्मचारी र सेवाग्राही दुवैलाई पर्ने असहजता, तथा व्यवस्थापनमा देखिने अव्यवस्था कम गर्न सक्ने सम्भावना छ।
आधुनिक सुविधासहितको भवनले द्रुत सेवा वितरण, अभिलेखीकरणको सुव्यवस्थित प्रणाली, डिजिटल रूपान्तरणका पहल तथा नागरिक अनुकूल वातावरण निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिन्छ।
तर, भवन निर्माण मात्र पर्याप्त हुनेछैन। स्थानीय सरकारको प्रभावकारिता भवनको सुन्दरता वा प्रशस्त कोठाहरूले मात्र नापिँदैन; यो नापिनेछ सेवाग्राहीले प्राप्त गर्ने बास्तविक अनुभव र परिणामले। भ्रष्टाचारमुक्त सेवा, समयमै काम, अप्ठेरो प्रक्रिया हटाउने पहल, कमजोर वर्ग र समुदायलाई प्राथमिकता दिने नीति यी सबै कुराले मात्र नयाँ भवनको वास्तविक मूल्य निर्धारण गर्नेछन्।
यस अवसरमा नगरपालिकाले आफ्ना दीर्घकालीन लक्ष्यहरू पनि स्पष्ट रूपमा जनतालाई प्रस्तुत गर्नुपर्छ ।अधोसंरचना विकास, वातावरणीय व्यवस्थापन, स्वास्थ्य र शिक्षा सुधार, रोजगारी सिर्जना तथा समग्र शहरी व्यवस्थापनमा कस्तो परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा ठोस योजनासहित अघि बढ्न आवश्यक छ।
त्रियुगा नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवन उद्घाटन सन्देह छैन, एक सकारात्मक कदम हो। तर यो केवल सुरुआत हो। नागरिक सेवामा गुणात्मक परिवर्तन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न नगरप्रशासनले निरन्तरता र प्रतिबद्धता देखाउन सके मात्र यो भवन साँचो अर्थमा विकासको आधारस्तम्भ बन्नेछ।
स्थानीय सरकारले यो अवसरलाई नागरिक विश्वास जित्ने अवसरका रूपमा उपयोग गरोस्य । ही नै आजको हाम्रो मूल अपेक्षा हो।