बुध, २८ माघ २०८२ / February 11, 2026, Wednesday
बुध, २८ माघ २०८२
Advertisement
banner add

काठमाडौं प्रहरीको ‘हाम्रो प्रहरी’ अभियान सुरु, टोल–समाजमै पुगेर सुरक्षा सेवा

writter
बुध, ०९ पुस २०८२
(Shares)

निगरानी ब्यूरो । काठमाडौं प्रहरीद्वारा टोलसमाजमै पुगेर सुरक्षा सेवा प्रदान गर्ने नयाँ योजना सार्वजनिक हुनु शहरी सुरक्षाको दृष्टिले सकारात्मक र समयानुकूल पहल हो। बढ्दो शहरीकरण, जनघनत्व, तथा साना ठूला अपराधका घटनाले नागरिकमा असुरक्षाको भावना बढिरहेका बेला प्रहरी आफैं नागरिकको ढोकासम्म पुग्नु विश्वास पुनःस्थापना गर्ने कदम मान्न सकिन्छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाद्वारा शुभारम्भ गरिएको ‘हाम्रो प्रहरी’ अभियान शहरी सुरक्षाको अभ्यासमा महत्वपूर्ण मोडका रूपमा देखिन्छ। प्रहरीको भूमिका कार्यालय र गस्तीमा मात्र सीमित नराखी टोल–समुदाय, विद्यालय र समाजसम्म विस्तार गर्ने यो अवधारणाले नागरिक–प्रहरी सम्बन्धलाई व्यवहारिक रूपमा बलियो बनाउने अपेक्षा जगाएको छ।

अपराध नियन्त्रण, अनुसन्धान, विपद् उद्धार, नागरिक सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम गर्न सामूहिक ऐक्यबद्धता निर्माण गर्ने उद्देश्यसहित सुरु गरिएको अभियानले समुदाय केन्द्रित सुरक्षा लाई प्राथमिकतामा राखेको स्पष्ट हुन्छ। टोल, समाज र विद्यालयस्तरमा प्रत्यक्ष संवाद, सचेतना, सुरक्षा परामर्श र गुनासो सुझाव संकलनजस्ता गतिविधिले सूचनाको प्रवाह छिटो र भरोसायोग्य बनाउने सम्भावना बढ्छ।

विशेषगरी विद्यार्थी केन्द्रित सुरक्षा प्रशिक्षण, लागू औषध तथा साइबर अपराधसम्बन्धी सचेतना, र विपद् प्रतिकार्यको पूर्वतयारीजस्ता कार्यक्रम आजको आवश्यकता हुन्। यस्ता पहलले अपराध रोकथामसँगै जोखिम न्यूनीकरण र आपतकालीन समन्वयलाई पनि सुदृढ गर्छन्। समुदायको सक्रिय सहभागिताले अनुसन्धानलाई प्रभावकारी बनाउने र विपद् बेला सामूहिक प्रतिक्रिया मजबुत हुने विश्वास स्वाभाविक छ।

यस योजनाको मुख्य सार भनेको समुदाय–प्रहरी साझेदारी लाई व्यवहारमै उतार्नु हो। टोलस्तरमा प्रहरीको नियमित पहुँचले स्थानीय समस्या छिटो पहिचान हुन्छ, सूचनाको आदान प्रदान सहज बन्छ र साना विवादहरू समयमै समाधान हुन सक्छन्। यसले अपराध रोकथाममा मात्र होइन, सामाजिक सद्भाव कायम राख्न पनि मद्दत पुर्‍याउँछ।

तर योजना सफल हुन केवल घोषणा पर्याप्त हुँदैन। पर्याप्त जनशक्ति, तालिम, स्रोतसाधन र स्पष्ट कार्ययोजना अनिवार्य छन्। प्रहरीको उपस्थितिलाई औपचारिक भेटघाटमा सीमित नगरी स्थानीय आवश्यकता बुझ्ने, युवालाई सकारात्मक गतिविधितर्फ जोड्ने र महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाको सुरक्षामा विशेष ध्यान दिनु जरुरी छ।

साथै, राजनीतिक वा व्यक्तिगत प्रभावबाट टाढा रहँदै निष्पक्ष सेवा प्रवाह हुनुपर्छ। नागरिकको गोपनीयता र सम्मानलाई केन्द्रमा राखेर काम गरिए मात्र टोल–समाजको विश्वास मजबुत हुन्छ। स्थानीय सरकार र टोल विकास संस्थासँगको समन्वयले यस योजनालाई थप प्रभावकारी बनाउन सक्छ।

समग्रमा, टोल समाजमै पुगेर सुरक्षा सेवा दिने काठमाडौं प्रहरीको योजना सही दिशातर्फको कदम हो। अब चुनौती यसको प्रभावकारी कार्यान्वयन र निरन्तरतामा छ। नागरिकको सक्रिय सहभागिता र प्रहरीको पेशागत प्रतिबद्धता मिल्दा मात्रै यो योजना कागजबाट व्यवहारमा रूपान्तरण हुनेछ।

ads

सम्बन्धित खबर