जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्कास्पद व्यक्ति र सवारीसाधनको जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा प्रदेश १–०२–०४७ प २०३४ नम्बरको स्कुटर चालक इटहरी–४ का ४३ वर्षीय बिशे चौधरी, स्कुटरमा सवार भुपनारायण चौधरी, को.३० प.४५०९ नम्बरको मोटरसाइकल चालक धरान–१६ का ३० वर्षीय एलिन जंग राणा तथा मोटरसाइकलमा सवार धरान–११ का ३१ वर्षीय सन्देश लिम्बू रहेका छन्।
प्रहरीले बिशे चौधरीको शरीर परीक्षणका क्रममा मलद्वारभित्र लुकाइएको ७ दशमलव ५२ ग्राम ब्राउन सुगर फेला पारेको जनाएको छ। त्यसैगरी सन्देश लिम्बूले पनि मलद्वारभित्र लुकाएर राखेको अवस्थामा १२ दशमलव ६५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागुऔषधको कुल तौल २० दशमलव १७ ग्राम रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।