शनि, १६ जेठ २०८३ / May 30, 2026, Saturday
शनि, १६ जेठ २०८३
Advertisement
banner add

के छ भनेर सोध्यो भने तपाईंको जवाफ के हुन्छ ? ’ : एउटा छोटो प्रश्न, जसको लामो जवाफ म कहिल्यै दिन्नँ

banner add
writter
शनि, १९ वैशाख २०८३
(Shares)

चिरञ्जीवी मरासिनी (बडाबा)

नेपाली समाजमा सबैभन्दा धेरै सोधिने तर सायद सबैभन्दा कम वास्ता गरिने प्रश्न हो– 'के छ ?' बाटोमा हिँड्दै गर्दा कोही परिचित अनुहार ठोक्किनासाथ मुखबाट स्वतः निस्कने थेगो हो यो। फोनको घण्टी उठ्नासाथ 'हेल्लो' पछि आउने पहिलो वाक्य पनि यही हो। तर, जब कोही मलाई 'के छ ?' भनेर सोध्छन्, म बेलाबेला आफैँभित्र घोरिन्छु। साँच्चै, मेरो के छ त ?

धेरैजसो समय त म पनि अरू जस्तै एउटा तयारी जवाफ फर्काइदिन्छु– 'ठीक छ नि ! उही त हो !' तर यो 'ठीक छ' भित्र कति धेरै 'बेठीक' कुराहरू लुकेका हुन्छन्, त्यो केवल मलाई र मेरो एकान्तलाई मात्र थाहा हुन्छ। मानिसहरू हालखबर बुझ्न होइन, केवल अभिवादनको औपचारिकता पूरा गर्न यो प्रश्न सोध्छन् भन्ने मलाई राम्रोसँग थाहा छ। त्यसैले त, मनभित्र आँधी चलिरहेको बेला पनि बाहिर मुस्कुराउँदै 'सबै ठीक छ' भन्न हामी सबै अभ्यस्त भइसकेका छौँ।

तर, यदि कसैले साँच्चै मेरो आँखामा हेरेर, मेरो मौनतालाई पढेर 'के छ ?' भनेर सोध्यो भने मेरो वास्तविक जवाफ निकै लामो हुनेछ। मेरो जवाफ हुनेछ– 'सङ्घर्ष छ।' हो, एउटा सामान्य मान्छेको जस्तै मेरा पनि आफ्नै दौडधुप र पिरलोहरू छन्। कहिले जिन्दगीका नसुल्झिएका जिम्मेवारीहरूको चाप छ त कहिले आफ्नै सपनाहरूसँगको दौड छ।

एउटा सर्जकको नाताले भन्नुपर्दा, मेरो मनभित्र हरपल शब्दहरूको हुरी चलिरहेको हुन्छ। कसैले 'के छ ?' भन्दा म भन्न चाहन्छु– 'मसँग लेख्न बाँकी थुप्रै गजलका काफियाहरू छन्, मञ्चमा गुञ्जिन बाँकी मुक्तकहरू छन् अनि पर्दामा उतार्न र निर्देशन गर्न बाँकी कथाहरू छन्।' कहिलेकाहीँ त लाग्छ, मेरो जिन्दगी नै एउटा अपुरो पाण्डुलिपि वा नाटकको स्क्रिप्ट जस्तो भएको छ, जसलाई हरेक दिन अलिकति लेख्छु र अलिकति मेट्छु।

हामी सबैको बाहिर देखिने एउटा अनुहार हुन्छ र भित्र बाँचिरहेको अर्को छुट्टै संसार हुन्छ। 'के छ ?' को जवाफ त्यही भित्री संसारको ऐना हो। मेरो पनि उज्यालो भविष्यको खोजी छ। कहिलेकाहीँ लाग्छ, समय अलि छिटो कुदिरहेको छ र म पछाडि छुटिरहेको छु। तर फेरि आफैँलाई सम्हाल्छु र भन्छु– 'हैन, म आफ्नै गतिमा हिँडिरहेको छु।'

त्यसैले, अब मलाई कसैले 'के छ ?' भनेर सोध्यो भने मेरो मनले दिने साँचो जवाफ यही हो: "जिन्दगी चलिरहेको छ। केही सपनाहरू भत्किएका छन् त केही नयाँ सपनाहरू निर्माण हुँदैछन्। सास र आस रहुन्जेल यो सिर्जना र सङ्घर्षको दौड चलिरहनेछ। समग्रमा भन्नुपर्दा– जिन्दगीको आफ्नै लय छ, म हार मान्नेवाला छैन, त्यसैले सबै ठीक छ।"

वास्तवमा, मेरो 'के छ ?' को साँचो जवाफ यही नै हो।

ads
ads
add
banner add

सम्बन्धित खबर