काठमाडौँ । निजामती सेवा राज्यको मेरुदण्ड हो । जनताको हक–अधिकार सुनिश्चित गर्ने, सरकारका नीति–कार्यक्रमलाई व्यवहारमा उतार्ने र सेवाप्रवाहलाई चुस्त बनाउन निजामती सेवकको भूमिका अपरिहार्य हुन्छ । यही सन्दर्भमा मनाइने निजामती दिवसले सेवाप्रति प्रतिबद्धता, उत्तरदायित्व र पारदर्शिता बढाउन प्रेरणा दिने विश्वास गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी बन्न नसक्ने बताएकी छन् ।
२२ औं निजामती सेवा दिवस–२०८२ को अवसरमा सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीहरुलाई बधाई तथा शुभकामना सन्देश दिँदै मन्त्री न्यौपानेले सो धारणा राखेकी हुन् ।
उनले सूचना प्रविधिको युगमा निजामती कर्मचारीले प्रविधिमैत्री, नागरिक केन्द्रित, सरल र छिटो सेवा दिनु अनिवार्य रहेकोमा जोड दिएकी छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य रहेको उनको धारणा छ ।
मन्त्री न्यौपानेले निजामती दिवस केवल औपचारिक उत्सव नभई देश र जनताको हितमा काम गर्ने संकल्प दोहोर्याउने अवसर भएको बताए । उनका अनुसार सेवा–प्रवाहमा देखिएका कमजोरी सुधार्ने, जनअपेक्षा अनुसार नतिजामुखी काम गर्ने र सुशासनलाई संस्थागत गर्ने दिशामा यस दिवसले प्रोत्साहन गर्नेछ ।
समय अनुसार निजामती सेवाले आफ्ना संरचना, दक्षता र कार्यशैलीमा सुधार ल्याउनु जरुरी छ । सेवाग्राहीमैत्री प्रशासन, परिणाममुखी कार्यक्रम र जवाफदेही कार्यशैलीमार्फत मात्र जनताको विश्वास जित्न सकिन्छ । निजामती दिवसले यी पक्षमा सचेत र सक्रिय हुन प्रेरणा दिन सकेमा यसको महत्व अझ बढ्नेछ ।