मङ्गल, ०२ मंसिर २०८२ / November 18, 2025, Tuesday
मङ्गल, ०२ मंसिर २०८२
Advertisement
banner add

‘एक घर, एक खानेपानी धारा’: भीमखोरीका ६३ घरधुरी लाभान्वित

writter
शनि, २९ कात्तिक २०८२
(Shares)

स्थानीय सरोकार/काभ्रेपलाञ्चोक । भीमखोरीका ६३ परिवारले ‘एक घर, एक खानेपानी धारा’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष रुपमा आधारभूत सेवा प्राप्त गर्न थालेको समाचार उत्साहजनक छ। 

नेपालका धेरै गाउँ–बस्तीमा आजसम्म पनि स्वच्छ खानेपानीको पहुँच मुख्य चुनौती बनेको अवस्थामा स्थानीय तहबाट अघि सारिएको यस्तो पहलले जनजीविकामा ठूलो परिवर्तन सम्भव बनाउँछ।

रोशी गाउँपालिका–११, भीमखोरीका ६३ परिवारले एक घर, एक खानेपानीको धारा पाएका छन् । बागमती प्रदेश खानेपानी ऊर्जा तथा जलस्रोत मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न खानेपानी आयोजनाअन्तर्गत भीमखोरीवासीले आँगनमै खानेपानीको सुविधा पाएका हुन् । 

भीमखोरी खानेपानी उपभोक्ता समितिको आयोजनामा खानेपानी, ऊर्जा तथा जलस्रोतमन्त्री कृष्णकुमार तामाङ र रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले संयुक्त रूपमा खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् ।

पहिलो–घरमै खानेपानी सुविधा पुग्दा महिलामाथि परेको बोझ कम हुन्छ, स्वास्थ्य जोखिम घट्छ, साथै बालबालिकाले पानी बोक्नुपर्ने बाध्यता हटेर उनीहरूको अध्ययन–समय बढ्छ। यस्तो कार्यक्रम केवल पूर्वाधार निर्माण मात्र होइन, सामाजिक–आर्थिक सशक्तीकरणको आधार पनि हो।

तर, यस्ता योजनाको दीर्घकालीन प्रभाव टिकाउ बनाउने जिम्मेवारी स्थानीय तहकै हो। निर्माणपछि मर्मत–सम्भार, स्रोत संरक्षण, समुदायको स्वामित्व र नियमित अनुगमन नहुँदा धेरै योजना केही वर्षमै निष्क्रिय हुने गरेका छन्। भीमखोरीमा सुरु गरिएको यो पहलले त्यो गल्ती नदोहोरियोस् भन्ने अपेक्षा रहन्छ।

खानेपानी तथा सरसफाइ डिभिजन नम्बर ३ सिन्धुपाल्चोकका डिभिजन प्रमुख सृष्टि ख्वालपालका अनुसार बागमती प्रदेश सरकारबाट ८४ लाख ६१ हजार २५९ र जनश्रमदानबाट पाँच लाख ६२ हजार ६६२ गरी जम्मा ९० लाख २३ हजार ९२१ लागतमा आयोजना सम्पन्न भएको हो। 

जसमा एक सरकारी कार्यालयसहित ६३ घरधुरीमा एक घर, एक धारा निर्माण भएको छ। पाँच हजार ६५० मिटर टाढाबाट ल्याएको खानेपानी आयोजनाबाट ३७२ जना स्थानीय लाभान्वित भएका छन्। 

६३ परिवारको जीवनस्तर सुधारतर्फ उठेको यो कदम स्वागतयोग्य छ। अब यसको विस्तार, दिगोपनाको व्यवस्था र सेवा गुणस्तरमा निरन्तरता प्रदान गर्न स्थानीय सरकार, सरोकारवाला संस्था र समुदायबीचको सहकार्य अझै मजबुत बनाउनु आवश्यक छ।

 

ads

सम्बन्धित खबर