मङ्गल, ११ कात्तिक २०८२ / October 28, 2025, Tuesday
मङ्गल, ११ कात्तिक २०८२
Advertisement
banner add

प्रहरी संगठनभित्र विवादास्पद निर्णयले दिएको संदेश

writter
शनि, ०४ असोज २०८२
(Shares)

काठमाडौं प्रहरी परिसरलाई सुरक्षित राख्न सफल र प्रदर्शनकारीमाथि गोली नचलाउन निर्देशन दिने एसएसपी विश्व अधिकारीलाई अहिले सरुवा गरिएको छ ।

संगठनभित्र हुने निर्णयहरू सामान्यतया साझा उद्देश्य, नियम र प्रक्रियामार्फत अघि बढाइन्छन्। तर कतिपय अवस्थामा नेतृत्व वा सानो समूहको प्रभावमा एकतर्फी निर्णय लिइँदा त्यसले संगठनलाई मात्र होइन, सम्पूर्ण सदस्यहरूको आस्था र विश्वासलाई समेत कमजोर पार्ने खतरा हुन्छ ।

यस्तो विवादास्पद निर्णयका कारण संगठनभित्र असन्तोष बढ्छ, गुटबन्दी मौलाउँछ र दीर्घकालमा संस्थाको अस्तित्व नै संकटमा पर्न सक्छ। संगठनहरू लोकतान्त्रिक अभ्यास र सामूहिक सहभागितामा टेकेको हुन्छन् भन्ने तथ्यलाई बेवास्ता गरेर लिइने निर्णयले सदस्यहरूको आवाज दबाउने मात्र होइन, निष्पक्षता र पारदर्शितामाथि प्रश्न खडा गर्छ ।

संगठनलाई सक्षम र सबल बनाउन निर्णय प्रक्रियामा सबै पक्षलाई सुन्ने, बहस–विमर्श गर्ने र न्यूनतम साझा आधारमा निष्कर्ष निकाल्ने अभ्यास हुनुपर्छ। यदि विवादास्पद निर्णयलाई बलजफ्ती लागू गरिन्छ भने तत्कालीन लाभभन्दा दीर्घकालीन हानि धेरै हुन्छ।

गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा संसद भवन, सिंहदरबार, राजनीतिक दलका कार्यालय र शीर्ष नेताहरूका निजी निवासहरूमा व्यापक क्षति भएको छ।

प्रदर्शनकारीले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पनि लक्षित गरे, जसमा करिब दुई दर्जन प्रहरी गाडी तोडफोड भए र कार्यालयको सम्पूर्ण संरचना जलेर नष्ट भएको प्रहरीले जनाएको छ। ठूलो संख्यामा हतियारसमेत लुटिएको तथ्य खुलेको छ ।

आन्दोलनको पहिलो दिन संसद भवनमा प्रवेश प्रयास गर्ने प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको थियो। सुरक्षाको जिम्मेवारी प्रत्यक्ष प्रहरी हेडक्वार्टरले लिएको थियो । त्यस दिन वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरसहित अन्य अनुभवी अधिकारीहरू संसद भवनमा खटिएका थिए। भिड नियन्त्रण कठिन भएपछि हेडक्वार्टरले आधा-घण्टाभित्र बल प्रयोग गरेर तितरबितर गर्ने आदेश दिएको थियो। परिणामस्वरूप धेरै नागरिक घाइते भए र केहीको ज्यान गयो ।

पहिलो दिन १९ जनाको ज्यान गएपछि, भोलिपल्ट एआईजी दानबहादुर कार्कीको नेतृत्वमा मेट्रो प्रहरी खटाइयो । तर प्रहरीको फितलो उपस्थितिका कारण आन्दोलनकारी सडकमा देखिन थाले ।

प्रहरी आफ्नो कार्यालय र अन्य सरकारी भवनहरू सुरक्षित राख्न असफल भए, केहीले ज्यान गुमाए र हतियार छाड्न बाध्य भए। आन्दोलनकारीहरूले घातक हतियार खेलौनाको रूपमा प्रदर्शन गरे पनि नियन्त्रणमा लिन प्रहरी असक्षम रह्यो ।

उक्त घटनाक्रममा काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुख एसएसपी विश्व अधिकारीले निरन्तर आदेश दिँदै घातक लाइफ राउण्ड नचलाउन आग्रह गरिरहेका थिए । उनका आदेशका कारण गोली हान्दा धेरै घाइते भए पनि ज्यान गुमाउने जोखिम केही घटेको बताइएको छ। त्यस दिन संसद भवन अगाडि एम्बुलेन्स नजिक उभिएका एक युवकमाथि समेत गोली प्रहार भए, जसले सुरक्षा बलको जिम्मेवारीको गम्भीर चुनौती देखायो।

विश्व अधिकारी एक काबिल प्रहरी अफिसरका रूपमा परिचित छन्। २०८१ माघ देखि काठमाडौं प्रहरी प्रमुख बनेका अधिकारीले अपराध नियन्त्रणमा उल्लेखनीय योगदान दिएका छन् ।

राजधानीलाई शान्त राख्न र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन उनी निरन्तर सक्रिय थिए। उनका नेतृत्वमा काठमाडौं परिसरले विभिन्न आपरेशनहरू सञ्चालन गरेका छन्, जसमा फरार अभियुक्त पक्राउ, ठूला नगद र सुन बरामद, तथा राजधानीभरका अपराध नियन्त्रित गर्ने अभियान प्रमुख छन् ।

अदालतको फैसला कार्यान्वयनदेखि नागरिक सुरक्षा सुधारसम्म अधिकारीको सक्रियता उल्लेखनीय छ। मोबाइल पसल संचालक, राइड सेयर कम्पनी र अन्य सार्वजनिक–निजी संरचनासँग सहकार्य गर्दै उनी अपराध नियन्त्रणलाई अझ प्रभावकारी बनाउँदै आएका थिए । ‘अपरेसन–९’ जस्ता अभियानमा उनी आफैं फिल्डमा खटिएका थिए, जसले उनलाई केवल कागजमा नभई वास्तविक मोर्चामा सक्षम अफिसरको रुपमा पुष्टि गर्दै थियो ।

यसअघि पनि दुर्गा प्रसाईंको समूहले संसद भवनमा प्रवेश प्रयास गर्दा अधिकारीको टोलीले संसद सुरक्षित राखेको थियो। फागुन १८ गते सिंहदरबार वृत्तमा झडप हुँदा पनि उनी फिल्डमै खटिएका थिए। उनका अनुभव र रणनीतिक क्षमता देखाएर काठमाडौं प्रहरी परिसर सुरक्षित रह्यो, जबकि अन्य उच्च संरचना असक्षम सावित भएका थिए । 

जेनजी आन्दोलनपछि एसएसपी विश्व अधिकारी सरुवा गरिएको छ। उनको सरुवा विवादास्पद मानिएको छ, किनकि अधिकारी प्रदर्शनकारीमाथि गोली नचलाउने, जनताको सुरक्षा सुनिश्चित गर्ने र कार्यालयको क्षति सीमित गर्ने जिम्मेवारीमा सफल भएका थिए। केही वरिष्ठ र जुनियर अधिकारीहरूको भनाइ अनुसार, अधिकारीलाई कमजोर देखाउने उद्देश्यले यस सरुवाको निर्णय गरिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ ।

एसएसपी विश्व अधिकारी आफ्नो पेशागत जीवनभर काबिल, परिणाममुखी र अनुभवी प्रहरी अफिसरको रूपमा चिनिएका छन्। मोरङ र कैलालीमा एसपी हुँदा उत्कृष्ट कार्यका कारण आफ्नो ब्याचमा पहिलो नम्बरमा एसएसपीमा बढुवा भएका उनी फिल्डमा सक्रिय, सूचना संकलनमा दक्ष र अपराध नियन्त्रणमा प्रभावकारी अधिकारीका रूपमा परिचित छन्। प्रहरी संगठनभित्र उनका अपरेसन र सूचनाको रणनीति अरू विभागका लागि बौद्दिक अफिसरका रूपमा उदाहरणीय मानिन्छ ।

 

ads

सम्बन्धित खबर