आज ६१औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ ।नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बालदिवसका नारा ‘बालबालिकामा लगानीस् सुनिश्चित भविष्यको थालनी’भन्ने रहेको छ । ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।
बाल दिवस बालबालिकाहरूको सम्मानमा प्रत्येक वर्ष मनाइन्छ जसको पालनको मिति देश अनुसार फरक रहेको छ।
अर्को शब्दमा भन्नु पर्दा बाल बालिकाहरूको नाममा मनाइने दिवसलाई 'बाल दिवस' भनिन्छ। बालदिवस ले सम्पूर्ण बालबालिकाको हक अधिकारका लागि आवाज उठाउने काम गर्दछ । अन्तर्राष्ट्रिय रूपमा १ जुन तथा नेपालमा भदौ महिनाको २९ गते मनाइन्छ।
वि.स.२०६३ साल भन्दा अघि बाल दिवस भाद्र ४ मा मनाइने गरिन्थ्यो भने हाल भदौ २९ मा यस दिवस मनाइन्छ।
नेपालको संविधानमा पनि बालबालिकाको हक अधिकारको व्यवस्था गरिएको छ। नेपालको संविधान २०७२ भाग ३ र धारा ३९ अन्तर्गत पर्ने मौलिक हकहरूमा बालबालिकाको हक अधिकारकाे व्यवस्था गरिएको छ।
सन् १८५७ मा म्यासेचुसेट्सको चेल्सीस्थित युनिभर्सलिस्ट चर्च अफ द रिडीमरका पादरी रेभरेन्ड डा चार्ल्स लियोनार्दले बाल दिवसको सुरुवात गरेका थिए। लियोनार्दले यस दिनको नाम गुलाफ दिवस राखेका थिए र त्यसपछि यसलाई बाल दिवसमा परिणत गरिएको थियो।
सन् १९२० मा टर्कीले बाल दिवसलाई आधिकारिक रूपमा राष्ट्रिय बिदाको रूपमा घोषणा गरेको थियो। सन् १९२० देखि नै सरकार र तत्कालीन पत्रपत्रिकाले यसलाई बालबालिकाका लागि दिवस घोषणा गरेसँगै राष्ट्रियस्तरमा बाल दिवस मनाउन थालिएको हो। यद्यपि, यस उत्सवलाई स्पष्ट पार्न र यसको औचित्य सावित गर्न आधिकारिक पुष्टिकरण आवश्यक रहेको बताएको थियो। यसको आधिकारिक घोषणा सन् १९२९ मा गणतन्त्र टर्कीका संस्थापक तथा राष्ट्रपति मुस्तफा कमाल अतातुर्कद्वारा राष्ट्रिय रूपमा गरिएको थियो।
विसं २०१६ सालको भाद्र ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन सुरु गरिएको थियो। इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देखेकी थिइन्।
भारतबाट फर्केपछि रानी रत्नद्वारा आफ्नो जन्म दिनपारी विसं २०२१ भाद्र ४ मा नेपाल बाल सङ्गठन स्थापना गरि आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरि सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ।
वि.सं २०६३ सालमा लोकतन्त्रको स्थापना पश्चात् यसको पूरानो संरचनामा केही फेरबदल भएको थियो जसको परिणाम स्वरुप देशमा स्थापना भएको लोकतन्त्रले बालदिवसको मितिलाई पनि परिवर्तन गरेको थियो।
वास्तवमा वि.सं २०४६ सालको प्रजातन्त्रको पुनस्थापना पछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्र बालअधिकार सम्बन्धी महासन्धि-१९८९ लाई २०४७ भदौ २९ मा अनुमोदन गरेको दिन नै बालदिवसको रूपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो।
आजसम्म जुन ढङ्गबाट बालदिवस मनाइएको थियो, त्यसमा आधारभूत परिवर्तन खोजिएको अवस्थामा नयाँ ढङ्गबाट अधिकारमुखी समानुपातिक ढङ्गबाट सबै बालबालिकाले आफ्नो अधिकार पाउने र आफ्नो दिवसको रूपमा मनाउन सकुन् भन्ने अवधारणाका साथ राष्ट्रिय बालदिवसको मिति परिवर्तन गरिएको पाइन्छ।
२०६३ साल अघि सम्मको बालदिवसको सार्थकता नरहेको तमाम सचेत जनताले महसुस गरि बालदिवसलाई बालबालिकाको आफ्नो दिवसको रूपमा मनाउन अवधारणाको साथ संयुक्त राष्ट्र बालअधिकार सम्बन्धी महासन्धि-१९८९ लाई २९ भदौ मा नेपालले अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा आत्मसाथ गरि सोही दिनलाई राष्ट्रिय बालदिवसको रूपमा मनाउने निर्णय गरिएको हो। २९ भाद्रलाई २०६३ देखि राष्ट्रिय बालदिवसको रूपमा मनाउने कार्यको थालनी भएको छ।