काठमाडौँ । हालै म्यानमारको म्यावडी सहरबाट १४ जना नेपाली नागरिकहरूको उद्धार भएको खबरले फेरि एकपटक मानव बेचबिखन र वैदेशिक रोजगारीको नाममा हुने ठगीको गहिरो घाउ उजागर गरेको छ।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको म्यावडीबाट १४ नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ ।
बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार (कात्तिक १९) काठमाडौं फर्काएको हो ।
“प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमारमा पुगी त्यहाँ अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा काममा लगाइएका १४ नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले म्यान्मार तथा थाइल्यान्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा म्यानमारको म्यावडीबाट उद्धार गरी थाइल्यान्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै थाइल्यान्ड ल्याई २०८२ कात्तिक १९ गतेका दिन नेपाल एयरलाइन्सको उडान नं. आरए ४०२ मार्फत नेपाल फर्काइएको छ,” बैंककस्थित नेपाली दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी, थप ११ नेपालीलाई यथाशीघ्र नेपाल फर्काउने गरी म्यानमार तथा थाइल्यान्डका सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको विज्ञप्तिमा जनाइएको छ ।
दूतावासका अनुसार, म्यानमारको म्यावडीमा रहेका स्क्यामिङ केन्द्रहरूबाट १९ अक्टोबर २०२५ पश्चात ३८ नेपालीसमेत विभिन्न २८ मुलुकका दुई हजारभन्दा बढी विदेशीहरू थाइल्यान्ड प्रवेश गरेका थिए ।
ती ३८ नेपालीलाई समेत नेपाल फर्काउनको लागि थाइल्यान्डको सम्बन्धित निकायसँग समन्वय भइरहेका विज्ञप्तिमा उल्लेख छ ।
यी नेपालीहरूलाई वैदेशिक रोजगारीको लोभमा म्यानमार पुर्याइएका थिए, तर त्यहाँ पुग्नासाथ उनीहरूलाई साइबर अपराध, ठगी, र जबर्जस्ती श्रममा लगाइने गरेको खुलेको छ।
प्रहरी र परराष्ट्र मन्त्रालयको समन्वयमा भएको उद्धार अभियानले उनीहरूलाई स्वदेश फर्काइएको छ। तर प्रश्न उठ्छ ! कति पटक हामीले यस्ता घटनाको समाचार सुन्नुपर्ने?
म्यावडी पछिल्ला वर्षहरूमा दक्षिणपूर्व एशियाको साइबर अपराध केन्द्र बनेको छ, जहाँ सयौँ दक्षिण एशियाली नागरिकहरू बन्धकजस्तै बनाइएका छन्। नेपालबाट पनि अनेक युवाहरू रोजगारीका नाममा त्यहाँ तस्करी भइरहेका छन्।
यो केवल अपराधी गिरोहको दोष होइन, अवस्था नियन्त्रणमा ल्याउन असफल सरकारी संयन्त्र, नीतिगत कमजोरी, र जनचेतनाको कमी पनि समान रूपमा जिम्मेवार छन्।
यस्तो अवस्थाबाट बाहिर निस्कन, अब केवल उद्धारमा होइन, निवारणमा ध्यान दिनुपर्ने बेला आएको छ। वैदेशिक रोजगार विभागले अनुमति बिना हुने म्यानमार र लाओसजस्ता देशतर्फका यात्रा तत्काल रोक्नुपर्छ।
प्रहरी र इन्टरपोलमार्फत अन्तरदेशीय अपराध सञ्जाल भङ्ग गर्न गहिरो अनुसन्धान आवश्यक छ। गाउँ–सहरमा युवा लक्षित मानव बेचबिखन सचेतना कार्यक्रम र डिजिटल ठगीसम्बन्धी शिक्षा अनिवार्य हुनुपर्छ।
म्यानमारको म्यावडीबाट १४ नेपाली फर्किए । यो राहतको कुरा हो। तर जबसम्म अर्को समूह त्यही जालमा फस्दैछ, तबसम्म हाम्रो जिम्मेवारी अधुरो छ। उद्धार अभियानले सुरुवात गर्छ, समाधान त मानव मर्यादा र अवसरको ग्यारेन्टीले मात्र ल्याउँछ।