आइत, १४ असार २०८३ / June 28, 2026, Sunday
आइत, १४ असार २०८३
Advertisement
banner add

८ करोड ७८ लाख हिनामिना प्रकरण : कर्मा छिरिङ शेर्पाविरुद्ध सीआईबीको कारबाही

banner add
writter
आइत, १४ असार २०८३
(Shares)

काठमाडौं । नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा ८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नियन्त्रणमा परेका छन्।

काठमाडौंको चर्चित शैक्षिक संस्था टूङ्गरम इन्टरनेसनल एकेडेमी प्रालिका कार्यकारी प्रमुख कर्मा छिरिङ शेर्पा ८ करोड ७८ लाख ३० हजार ८०२ रुपैयाँ हिनामिना, ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.का अनुसार, टूङ्गरम इन्टरनेसनल एकेडेमीका तर्फबाट अख्तियारप्राप्त रामचन्द्र बहाला श्रेष्ठले दिएको जाहेरीका आधारमा शेर्पामाथि अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा विद्यालयको बैंक खाता एकल हस्ताक्षरबाट सञ्चालन गर्ने अधिकार पाएका शेर्पाले आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गर्दै विद्यालयको ठूलो परिमाणको सम्पत्ति हिनामिना गरेको खुलेको ब्यूरोले जनाएको छ। उनले डर, त्रास तथा अनुचित प्रभाव प्रयोग गरी विद्यालयको ८ करोड ७८ लाख ३० हजार ८०२ रुपैयाँ बराबरको रकम हिनामिना गरेको आरोप छ।

सीआईबीका अनुसार शेर्पाले विद्यालयको नाममा भक्तपुरको तत्कालीन दधिकोट गाविस–२ मा रहेको करिब १९ रोपनी ४ आना २ पैसा १ दाम जग्गा आफू सम्बद्ध कम्पनीहरूलाई बिक्री गरेका थिए। साथै विद्यालयका लागि सवारी साधन खरिद गर्न छुट्याइएको रकम प्रयोग गरी व्यक्तिगत तथा आफ्ना अन्य कम्पनीका नाममा जग्गा र सवारी साधन खरिद गरेको आरोप पनि लगाइएको छ।

विद्यालयको सम्पत्ति र रकम व्यक्तिगत लाभका लागि प्रयोग गरेको भन्दै उनीविरुद्ध ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो।काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सीआईबीको टोलीले काठमाडौं महानगरपालिका–१ स्थायी घर भई हाल बुढानीलकण्ठ नगरपालिका–६ गणेशचोक बस्दै आएका ५४ वर्षीय शेर्पालाई नियन्त्रणमा लिएको हो। सीआईबी उच्च स्रोतका अनुसार शेर्पासम्बन्धी अनुसन्धान करिब दुई वर्षदेखि रोकिएको अवस्थामा रहेको थियो। पछिल्लो समय अनुसन्धान पुनः सक्रिय बनाएपछि उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार शेर्पामाथि ८ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ। उनीविरुद्ध परेको उजुरीका आधारमा सीआईबीले नियन्त्रणमा लिएर बयान तथा थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

अनुसन्धानका क्रममा आर्थिक कारोबार, प्रमाण तथा सम्बन्धित कागजातहरूको परीक्षण भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप तथ्य संकलन भइरहेकाले अनुसन्धानपछि मात्र अभियोग र कानुनी प्रक्रिया स्पष्ट हुने सीआईबीको भनाइ छ।

ads
ads
add
banner add

सम्बन्धित खबर