शुक्र, २५ वैशाख २०८३ / May 8, 2026, Friday
शुक्र, २५ वैशाख २०८३
Advertisement
banner add

उपभोक्तामाथि ठगीको अर्को रूप

banner add
writter
शुक्र, २५ वैशाख २०८३
(Shares)

काठमाडौँ । सूर्यमुखी तेल उत्पादन गर्ने एक कम्पनीका सञ्चालक परिमाण कम राखेर बिक्री गरेको आरोपमा पक्राउ पर्नु सामान्य घटना मात्र होइन, यो बजारमा मौलाउँदै गएको उपभोक्ता ठगीको गम्भीर संकेत हो। दैनिक उपभोग्य वस्तुमा नै तोकिएको परिमाणभन्दा कम सामग्री राखेर बिक्री गर्नु सीधा उपभोक्ताको अधिकारमाथिको प्रहार हो। यस्तो कार्यले बजारप्रतिको विश्वास कमजोर बनाउनुका साथै इमानदार व्यवसायीलाई पनि अन्याय गर्छ।

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार उनीमाथि तेलको प्याकेजिङ गर्दा कम मात्रा राखेर बिक्री गरेको आरोप छ । ओमकार आयल इन्डस्ट्रिज ललितपुरको गोदावरी नगरपालिका वडा नं. ५ लेलेमा रहेको छ । श्रेष्ठसँगै ९०५ कार्टुन तेल पनि प्रहरीले बरामद गरेको छ । यस ब्रान्डको सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण भइरहेको सूचना प्रहरीमा पुगेको थियो । प्रहरीको अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेको प्रहरीले जनाएको छ ।

नेपालमा उपभोक्ता संरक्षणसम्बन्धी कानुन भए पनि कार्यान्वयन फितलो हुँदा यस्ता घटना दोहोरिने गरेका छन्। खाद्यान्न, तेल, मसला, पेय पदार्थलगायतका वस्तुमा तौल र परिमाणमा चलखेल हुने गुनासो पटक–पटक उठ्ने गरेका छन्। अनुगमन हुने बेलामा मात्रै सतर्क हुने र पछि फेरि पुरानै शैली दोहोरिने प्रवृत्तिले समस्या झन् गहिरिएको छ।

विशेषगरी महँगी बढिरहेका बेला उपभोक्ताले तिरेको मूल्यअनुसार वस्तु नपाउनु आर्थिक शोषणकै रूप हो। कम परिमाण राखेर बिक्री गर्नु केवल कानुनी अपराध मात्र होइन, नैतिक पतन पनि हो। व्यापार नाफाका लागि हुन्छ, तर नाफाकै नाममा ठगी स्वीकार्य हुन सक्दैन।

यस घटनाले बजार अनुगमनको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ। यदि नियमित र कडा अनुगमन प्रभावकारी रूपमा हुने हो भने यस्ता गतिविधि लामो समयसम्म चल्न सक्दैनथे। त्यसैले सम्बन्धित निकायले केवल पक्राउ गरेर समाचार बनाउनेभन्दा पनि दोषीमाथि कडा कारबाही, क्षतिपूर्ति व्यवस्था र दीर्घकालीन निगरानी प्रणाली विकास गर्न आवश्यक छ।

उपभोक्ता स्वयं पनि सचेत बन्न जरुरी छ। खरिद गर्दा तौल, परिमाण, म्याद र गुणस्तर जाँच्ने बानी विकास गर्नुपर्छ। ठगी भएको महसुस भए सम्बन्धित निकायमा उजुरी गर्ने संस्कार बलियो बन्नुपर्छ। सचेत उपभोक्ता र जिम्मेवार राज्य संयन्त्र मिलेर मात्र स्वस्थ बजार व्यवस्था निर्माण गर्न सक्छन्।

ads
ads
add
banner add

सम्बन्धित खबर