शुक्र, ०१ साउन २०८३ / July 17, 2026, Friday
शुक्र, ०१ साउन २०८३
Advertisement
banner add

स्थानीय उत्पादनको ब्रान्डिङ : ‘कोदोको ३ पाने’ बाट नयाँ सन्देश

banner add
writter
शुक्र, ०१ साउन २०८३
(Shares)

स्थानीय सरोकार/खोटाङ । स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्दै पर्यटनसँग जोड्ने प्रयास अहिले धेरै स्थानीय तहले गरिरहेका छन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले "हलेसी सांस्कृतिक कोसेली" का रूपमा परम्परागत कोदोको ३ पानेलाई पहिचान दिलाउने अभियान थालेको छ। उत्पादनको गुणस्तर, शुद्धता र अल्कोहलको मात्रा एकरूप बनाउन होमस्टेसँग सम्झौता गर्नु स्थानीय उत्पादनलाई व्यवस्थित गर्ने सकारात्मक पहल हो।

नगरपालिकाले परम्परागत विधिबाट मात्र ३ पाने उत्पादन गर्नुपर्ने, तामा र माटोका भाँडाकुँडा प्रयोग गर्ने, कोदोको जाँड निश्चित प्रक्रिया पूरा भएपछि मात्र रक्सी उत्पादन गर्ने तथा करिब ४५ प्रतिशत अल्कोहलको मापदण्ड कायम गर्ने व्यवस्था गरेको छ। लेबलिङ, ब्रान्डिङ र नियमित अनुगमनको व्यवस्था पनि उपभोक्ताको विश्वास बढाउने प्रयास हो। यस्ता मापदण्डले उत्पादनलाई स्थानीय पहिचानसँग जोड्दै गुणस्तरीय बनाउन सहयोग पुर्‍याउन सक्छ।

यस अभियानको अर्को महत्त्वपूर्ण पक्ष स्थानीय महिलालाई तालिम, आवश्यक सामग्री र सीप प्रदान गरेर आयआर्जनको अवसर सिर्जना गर्नु हो। यसले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै परम्परागत ज्ञान र सीपको संरक्षणमा पनि योगदान पुर्‍याउँछ। धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र हलेसीमा आउने पर्यटकका लागि स्थानीय स्वादलाई सांस्कृतिक कोसेलीका रूपमा प्रस्तुत गर्नु पर्यटन प्रवर्द्धनको दृष्टिले पनि सकारात्मक सोच हो।

तर, यो अभियानसँग जोडिएको सबैभन्दा ठूलो प्रश्न कानुनी स्पष्टताको हो। नगरपालिकाले स्वयं स्वीकार गरेअनुसार घरेलु मदिराको उत्पादन तथा बिक्रीसम्बन्धी कानुनी व्यवस्था अझै स्पष्ट छैन। त्यसैले कोसेलीका रूपमा मात्र उपलब्ध गराउने व्यवस्था गरिएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन आवश्यक भए पनि विद्यमान कानुनको सम्मान र खाद्य सुरक्षाको मापदण्डको पालना अनिवार्य हुनुपर्छ। कानुनी अस्पष्टताबीच सञ्चालन गरिने कुनै पनि कार्यक्रमले भविष्यमा विवाद निम्त्याउन सक्छ।

अर्को महत्त्वपूर्ण पक्ष स्वास्थ्य सुरक्षा हो। परम्परागत मदिरा भएकै कारण यसको गुणस्तर परीक्षण, स्वच्छ उत्पादन प्रक्रिया र अल्कोहलको मात्रा नियमित परीक्षण हुनुपर्छ। केवल घोषणामै सीमित नभई सम्बन्धित प्राविधिक निकायबाट वैज्ञानिक परीक्षण, गुणस्तर प्रमाणीकरण र प्रभावकारी अनुगमन भए मात्र उपभोक्ताको विश्वास कायम रहन्छ।

स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने चाहना स्वाभाविक हो। तर त्यसका लागि कानुनी आधार, गुणस्तर प्रमाणीकरण, कर प्रणाली, प्याकेजिङ र बजार व्यवस्थापन पनि उत्तिकै बलियो हुनुपर्छ। केवल ब्रान्डिङले मात्र उत्पादनलाई दिगो बनाउन सक्दैन।

हलेसीको कोदोको ३ पाने अभियानले स्थानीय संस्कृति, पर्यटन र ग्रामीण अर्थतन्त्रलाई जोड्ने नयाँ सम्भावना देखाएको छ। अब यसको सफलताको आधार परम्पराको संरक्षण मात्र होइन, गुणस्तर, पारदर्शिता, स्वास्थ्य सुरक्षा र कानुनी वैधतालाई समान प्राथमिकतामा राख्नु हुनेछ। स्थानीय उत्पादनको सम्मान गर्दै उपभोक्ताको सुरक्षा सुनिश्चित गर्न सकियो भने हलेसी सांस्कृतिक कोसेली वास्तवमै नेपालको मौलिक पहिचानका रूपमा स्थापित हुन सक्छ।

ads
ads
add
banner add

सम्बन्धित खबर