स्थानीय सराेकार/लमजुङ । मध्यनेपाल नगरपालिकाले गुरुङ (तमु) समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मंगलबार सांस्कृतिक पर्वका रूपमा ट्होटे पर्व धुमधामका साथ मनाउँदै आएका छन्। यस वर्षको ट्होटे पर्व २०८३ साउन २६ गते मंगलबार पर्ने भएकाले नगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको हो।
स्थानीय बिदा मध्यनेपाल नगरपालिका, नगर कार्यपालिकाको कार्यालयअन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक तथा संस्थागत शैक्षिक संस्था, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था तथा अन्य संघसंस्थामा लागू हुने जनाइएको छ।
नगरपालिकाका अनुसार ट्होटे पर्वका अवसरमा नगरपालिका तथा देश–विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायका महानुभावहरूमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गरिएको छ।
नगर प्रमुख रमेश कुमार पाण्डेद्वारा जारी सूचनामा स्थानीय बिदासम्बन्धी जानकारी गराइएको हो।