मङ्गल, ०५ जेठ २०८३ / May 19, 2026, Tuesday
मङ्गल, ०५ जेठ २०८३
Advertisement
banner add

आजदेखि चन्द्रकोटमा ‘चौथो अध्यक्ष कप’

banner add
writter
मङ्गल, ०५ जेठ २०८३
(Shares)

स्थानीय सरोकार/गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका मा आजदेखि चौथो अध्यक्ष कप प्रतियोगिता सुरु हुँदैछ । खेलकुदमार्फत युवामा अनुशासन, नेतृत्व क्षमता र आपसी सद्भाव विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले गाउँपालिकाको खेल संस्कृतिलाई थप उचाइ दिने अपेक्षा गरिएको छ ।

गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता आज (मङ्गलबार)देखि सुरु हुँदैछ । चन्द्रकोट क्याम्पस को खुला मैदानमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको गाउँपालिकाले जनाएको छ ।

दुई दिनसम्म सञ्चालन हुने वडा स्तरीय चौथो अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता खेलकुदमार्फत सामाजिक सद्भाव, सहिष्णुता र आपसी हार्दिकता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चालिसे का अनुसार युवामा रहेको खेल प्रतिभा उजागर गर्दै भलिबल खेलको विकास र नयाँ खेलाडी पहिचान गर्ने लक्ष्य प्रतियोगिताले राखेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको प्रतियोगितामा पुरुष तथा महिला दुवै विधाका खेल समावेश गरिएका छन् । पुरुषतर्फ प्रथम हुने टोलीले ६५ हजार रुपैयाँ, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ नगदसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फ प्रथम हुने टोलीलाई ३५ हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई १५ हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर, लिबेरो तथा सर्वोत्कृष्ट खेलाडीलाई समेत ट्रफी र मेडलद्वारा सम्मान गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका आठवटै वडाबाट पुरुष तथा महिला टोलीको सहभागिता रहने प्रतियोगिता एफआईभिबी र एनभिएको नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन हुनेछ ।

स्थानीय तहले पूर्वाधार विकाससँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्नु सकारात्मक पक्ष हो । पछिल्लो समय गाउँ–गाउँमा खेल गतिविधि बढ्दै जाँदा ग्रामीण क्षेत्रका प्रतिभावान खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाएका छन् । अध्यक्ष कपजस्ता प्रतियोगिताले लुकेका प्रतिभा उजागर गर्नुका साथै युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।

खेल केवल प्रतिस्पर्धा मात्र होइन, सामाजिक एकता र स्वस्थ जीवनशैलीको माध्यम पनि हो । यस्ता प्रतियोगितामा विद्यालय, क्लब र युवाको सक्रिय सहभागिताले स्थानीय स्तरमा उत्साह थप्ने गर्दछ । अझ व्यवस्थित व्यवस्थापन, निष्पक्ष प्रतिस्पर्धा र खेलाडीको सुरक्षा सुनिश्चित गर्न सकिए यस्ता कार्यक्रम अझ प्रभावकारी बन्न सक्छन् ।

चन्द्रकोटमा सुरु भएको अध्यक्ष कप केवल खेल महोत्सव नभई स्थानीय पहिचान र सामूहिक उत्साहको प्रतीक पनि हो । प्रतियोगिताले नयाँ खेल प्रतिभा उत्पादन गर्दै गाउँपालिकालाई खेलकुदको केन्द्रका रूपमा स्थापित गर्न योगदान पुगोस् भन्ने अपेक्षा गर्न सकिन्छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर