मङ्गल, ०५ जेठ २०८३ / May 19, 2026, Tuesday
मङ्गल, ०५ जेठ २०८३
Advertisement
banner add

नेतृत्वको भिजन र प्रविधिको फ्युजन: पाँचपोखरी थाङपालको समृद्धिको नयाँ मार्गचित्र

banner add
writter
सोम, ०४ जेठ २०८३
(Shares)

स्थानीय सरोकार/सिन्धुलाल्चोक । नेपालको संविधान २०७२ ले परिकल्पना गरेको सङ्घीय शासन व्यवस्थामा स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार र जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अहिले सूचना प्रविधि केवल विकल्प होइन, आवश्यकता बनेको छ । यही यथार्थलाई आत्मसात् गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सूचना प्रविधिलाई विकास र सुशासनको मूल आधार बनाउँदै डिजिटल रूपान्तरणको नयाँ अभ्यास सुरु गरेको छ।

पाँचपोखरीको विकासको आधार, सूचना प्रविधिको पूर्वाधार भन्ने नारालाई व्यवहारमा उतार्दै गाउँपालिकाले प्रशासनिक सुधारदेखि सेवा प्रवाह, शिक्षा, योजना निर्माण र विपद् व्यवस्थापनसम्म प्रविधिको प्रभावकारी उपयोग गरिरहेको छ । यसले स्थानीय सरकार कसरी स्मार्ट र नागरिकमैत्री बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

यस परिवर्तनको मुख्य आधार निर्वाचित जनप्रतिनिधिहरूको स्पष्ट दृष्टिकोण, दुरदर्शी नेतृत्व र सूचना प्रविधि शाखाको उच्च कार्यक्षमता हो । नीतिगत तहमा नेतृत्वको दृढ प्रतिबद्धता र कार्यान्वयन तहमा प्राविधिक जनशक्तिको दक्षताले गर्दा पाँचपोखरी थाङपालले डिजिटल सुशासनको क्षेत्रमा उल्लेखनीय फड्को मारेको देखिन्छ ।

-         डिजिटल सुशासनतर्फको फड्को

गाउँपालिकाले प्रशासनिक पारदर्शिता र उत्तरदायित्वलाई बलियो बनाउन डिजिटल हाजिरी प्रणाली लागू गरेको छ । मुख्य कार्यालयदेखि वडा, विद्यालय र स्वास्थ्य संस्थासम्म लागू गरिएको यो प्रणालीले कर्मचारीको कार्यसंस्कृति र समयपालनामा सुधार ल्याएको छ ।

त्यसैगरी Sutra, PAMS, EMIS, HMIS Bolpatra जस्ता राष्ट्रिय प्रणालीहरूलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याएर पालिकाले सरकारी सेवा प्रवाहलाई व्यवस्थित बनाएको छ । पालिकाभित्र जडान गरिएका केन्द्रीकृत CCTV प्रणालीले सुरक्षा, अनुगमन र प्रशासनिक नियन्त्रणलाई थप प्रभावकारी बनाएको छ ।

-         कागजरहित प्रशासन र पारदर्शी सेवा

सूचना प्रविधिको प्रयोगमार्फत गाउँपालिकाले संस्थागत सञ्चार प्रणालीलाई आधुनिक बनाएको छ । सरकारी मापदण्डअनुसार वेबसाइट अद्यावधिक गर्ने, सामाजिक सञ्जालमार्फत गतिविधि सार्वजनिक गर्ने, शाखागत Official E-mail CUG SIM को व्यवस्था गर्ने जस्ता कदमले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाएको छ ।

यसले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाएको मात्र होइन, सेवाग्राहीका गुनासा र सूचनाको पहुँचलाई पनि प्रभावकारी बनाएको छ ।

-         स्मार्ट पालिकाको अवधारणा

पाँचपोखरी थाङपालले परम्परागत प्रशासनिक प्रणालीलाई डिजिटल माध्यममा रूपान्तरण गर्दै स्मार्ट पालिकाको अवधारणालाई व्यवहारमा उतारिरहेको छ । योजना व्यवस्थापन प्रणाली, दर्ता–चलानी प्रणाली, ई–सिफारिस, मोबाइल एप, न्यायिक इजलास प्रणाली तथा डिजिटल नागरिक बडापत्र जस्ता सेवाहरूले नागरिकलाई घरमै बसेर सेवा प्राप्त गर्ने वातावरण निर्माण गरेका छन् ।

यसले फाइल हराउने, ढिलासुस्ती हुने र अनावश्यक प्रशासनिक झन्झट घटाउँदै सेवा प्रवाहलाई व्यवस्थित बनाएको छ ।

-         शिक्षा क्षेत्रमा प्रविधिको विस्तार

शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढाउन गाउँपालिकाले विद्यालय डिजिटलाइजेसन अभियान अघि बढाएको छ । विद्यालयहरूमा डिजिटल हाजिरी, प्रविधिमैत्री कक्षाकोठा, ल्यापटप, प्रिन्टर, राउटर वितरण तथा नियमित प्राविधिक सहयोगले शिक्षण प्रणालीलाई आधुनिक बनाउने प्रयास भइरहेको छ ।

यसले ग्रामीण क्षेत्रमा पनि प्रविधिमैत्री शिक्षाको वातावरण निर्माण गर्न सहयोग पुगेको छ ।

-         GIS र डिजिटल प्रोफाइलमार्फत वैज्ञानिक योजना

गाउँपालिकाले विकास योजनालाई तथ्यमा आधारित बनाउन GIS GPS प्रविधिमा आधारित डिजिटल घर नम्बर तथा डिजिटल हाउसहोल्ड प्रोफाइलिङ अभियान सुरु गरेको छ ।

प्रत्येक घरको अवस्थिति, जनसांख्यिक विवरण र आधारभूत आवश्यकताको डिजिटल तथ्याङ्क संकलन भएपछि शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा विपद् व्यवस्थापनका योजनाहरू थप वैज्ञानिक र लक्षित बन्ने अपेक्षा गरिएको छ ।

विशेषगरी भौगोलिक रूपमा विकट क्षेत्रमा विपद् वा दुर्घटनाका बेला GPS आधारित सूचना प्रणालीले उद्धार तथा राहत कार्यलाई छिटो र प्रभावकारी बनाउन मद्दत पुग्नेछ ।

-         डिजिटल डेटा र विपद् व्यवस्थापन

गाउँपालिकाले संकलित डिजिटल डेटालाई राष्ट्रिय BIPAD Portal सँग समायोजन गर्ने रणनीति अघि सारेको छ । यसले विपद् जोखिमको मूल्याङ्कन, पूर्वतयारी तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछ ।

साथै, डेटा सुरक्षा, नियमित अद्यावधिक र क्षमता अभिवृद्धिका कार्यक्रममार्फत यो प्रणालीलाई दीर्घकालीन र दिगो बनाउने तयारी पनि गरिएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा भइरहेको यो प्रविधिमैत्री अभियान केवल डिजिटल उपकरण जडान गर्ने कार्यक्रम होइन, यो स्थानीय शासन सुधारको दीर्घकालीन दृष्टिकोण हो ।

नेतृत्वको दूरदर्शी सोच, स्पष्ट नीति र सूचना प्रविधि शाखाको कार्यदक्षताको संयोजनले पाँचपोखरीलाई डिजिटल सुशासनको नमुना पालिकाका रूपमा स्थापित गर्दै लगेको छ ।

स्थानीय सरकार यदि इच्छाशक्ति, योजना र प्रविधिसँग जोडिन्छ भने सीमित स्रोतसाधनमै पनि विकास, पारदर्शिता र नागरिक सेवामा ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश पाँचपोखरी थाङपालले दिएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर