काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले चिकित्सा शिक्षा अध्ययन गर्न इच्छुक स्थानीय विद्यार्थीका लागि ऐतिहासिक निर्णय गर्दै एमबीबीएससहित विभिन्न मेडिकल विषयमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। आर्थिक अभावका कारण डाक्टर बन्ने सपना त्याग्न बाध्य हुने जेहेन्दार विद्यार्थीका लागि यो निर्णय महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
नगर प्रमुख दिपक कुमार रिसालले आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसर सुनिश्चित गर्न यो योजना ल्याइएको जानकारी दिए।
उनले भने, “पैसाको अभावले कुनै पनि जेहेन्दार विद्यार्थी डाक्टर बन्ने अवसरबाट वञ्चित हुनु हुँदैन। शिक्षा सबैको पहुँचमा पुग्नुपर्छ भन्ने मान्यताका साथ गोकर्णेश्वर नगरपालिकाले चिकित्सा शिक्षामा ५० प्रतिशत छात्रवृत्ति दिने निर्णय गरेको हो। यो केवल छात्रवृत्ति कार्यक्रम होइन, स्थानीय युवाको भविष्यमा गरिएको लगानी हो।”
नगरपालिकाका अनुसार योजनाअन्तर्गत एमबीबीएस अध्ययन गर्ने विद्यार्थीले करिब २१ लाख रुपैयाँसम्म छात्रवृत्ति प्राप्त गर्नेछन्। त्यस्तै बीडीएस, बीएस्सी नर्सिङ, बीएस्सी मेडिकल इमेजिङ टेक्नोलोजी (MIT) तथा बीएस्सी ल्याब मेडिसिन अध्ययन गर्ने विद्यार्थीले पनि अध्ययन शुल्कको ५० प्रतिशत रकम छात्रवृत्तिस्वरूप प्राप्त गर्नेछन्।
नेपालमा एमबीबीएस अध्ययनका लागि करिब ४२ लाख रुपैयाँ खर्च लाग्ने भएकाले धेरै प्रतिभाशाली विद्यार्थी आर्थिक अभावका कारण आफ्नो लक्ष्यबाट पछि हट्नुपर्ने अवस्था रहेको छ। नगरपालिकाले योग्य विद्यार्थीलाई आर्थिक सहयोग गर्दै उनीहरूको शैक्षिक यात्रालाई सहज बनाउन यो योजना लागू गरेको जनाएको छ।
मेयर रिसालले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानीले दीर्घकालमा दक्ष जनशक्ति उत्पादन गर्नुका साथै स्थानीय समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले भने, “हामी सडक र भवन मात्र बनाउने होइन, सक्षम नागरिक निर्माण गर्ने अभियानमा छौँ। गोकर्णेश्वरका हरेक प्रतिभाशाली विद्यार्थीले आर्थिक समस्याका कारण आफ्नो सपना त्याग्न नपरोस् भन्ने हाम्रो प्रतिबद्धता हो।”
छात्रवृत्ति सुविधा गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाका सन्तानका लागि मात्र लागू हुनेछ। यसका लागि विद्यार्थी वा अभिभावकको नागरिकता अथवा मतदाता परिचयपत्र गोकर्णेश्वर नगरपालिकाभित्रकै हुनुपर्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले यसअघि पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न सहुलियत तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ। पछिल्लो निर्णयले स्थानीय सरकार नागरिकको भविष्य निर्माणमा प्रत्यक्ष साझेदार बन्न सक्ने उदाहरण प्रस्तुत गरेको भन्दै नगरवासीले स्वागत गरेका छन्।
गोकर्णेश्वर नगरपालिकाको यो पहलले आर्थिक रूपमा कमजोर तर अध्ययनमा उत्कृष्ट विद्यार्थीलाई चिकित्सा शिक्षातर्फ आकर्षित गर्नुका साथै भविष्यमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।