काठमाडौं । विश्व राजनीतिमा देखिएको पुस्तान्तरणको प्रभाव नेपालमा पनि क्रमशः स्पष्ट बन्दै गएको छ। प्रविधिमा अभ्यस्त, सूचनाप्रति सजग र सामाजिक सवालप्रति सचेत जेन्जी (Gen Z) पुस्ता अब राजनीतिमा केवल दर्शक होइन, सक्रिय सहभागीको रूपमा उभिन थालेको छ। यस पुस्ताले पुरानै शैलीको राजनीति होइन, वैचारिक स्पष्टता, उत्तरदायित्व र परिणाममुखी नेतृत्वको माग अघि सारेको छ।
आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि अखिल क्रान्तिकारीले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रबाट जेन्जी (Gen Z) प्रतिनिधित्वसहित वैचारिक रूपमा दृढ युवा नेतृत्व सिफारिस गरेको छ।
जेन्जी पुस्ताको विशेषता भनेको प्रश्न गर्न सक्ने साहस र तथ्यमा आधारित बहस गर्ने क्षमता हो। सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र नागरिक अभियानमार्फत उनीहरूले भ्रष्टाचार, सुशासन, सामाजिक न्याय, समावेशिता र अवसरको समानताजस्ता मुद्दालाई प्राथमिकतामा राखेका छन्। यसले राजनीतिलाई भावनात्मक नाराबाट नीतिगत बहसतर्फ डोर्याउने सम्भावना देखाएको छ।
यद्यपि चुनौतीहरू पनि कम छैनन्। अनुभवको कमी, संस्थागत राजनीतिक संरचनामा पहुँचको अभाव र पुरानो सोचको वर्चस्वले जेन्जी नेतृत्वलाई अवरोध पुर्याइरहेको छ। तर वैचारिक रूपमा सक्षम र शैक्षिक रूपमा सचेत यो पुस्ता दीर्घकालीन सोच, संवाद र सहकार्यमार्फत यी अवरोध पार गर्न सक्ने क्षमतायुक्त देखिन्छ।
पार्टी स्रोतका अनुसार काठमाडौं क्षेत्र नम्बर ५ बाट अखिल क्रान्तिकारीका युवा नेता जनक ढुंगाना जेन्जी प्रतिनिधित्व गर्दै उम्मेदवारका रूपमा सिफारिस भएका छन्। त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ३ बाट जेन्जी रेडफोर्सकी सहसंयोजक, अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा छात्रा विभाग उपप्रमुख अस्मिता खत्री सिफारिस भएकी छन्।
सिफारिस भएका दुवै नेताहरू वैचारिक प्रतिबद्धता, वर्गीय चेतना र परिवर्तनमुखी राजनीतिक दृष्टिकोणबाट प्रभावित युवा नेतृत्वका रूपमा चिनिन्छन्। उनीहरूले काठमाडौंका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क शिक्षा तथा शैक्षिक सहयोग प्रदान गर्दै, शिक्षा अधिकारलाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएका छन्।
उनीहरू विगत लामो समयदेखि विद्यार्थीका हकहित, समान र निःशुल्क शिक्षाको पक्षमा सडक आन्दोलनदेखि संगठनात्मक संघर्षसम्म सक्रिय रहँदै आएका छन्। यसका साथै, भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने र दलाल पूँजीवादी प्रवृत्तिका विरुद्ध दबाब सिर्जना गर्ने अभियानहरू पनि निरन्तर सञ्चालन गर्दै आइरहेका छन्। अखिल क्रान्तिकारीले यसलाई विद्यार्थी आन्दोलनलाई राजनीतिक रूपान्तरण र समाज परिवर्तनसँग जोड्ने वैचारिक पहलको रूपमा व्याख्या गरेको छ।