चुरे क्षेत्र नेपालको पर्यावरणीय सन्तुलनको मेरुदण्ड हो। देशको समग्र पारिस्थितिक प्रणाली, भूमिगत जलस्रोत, कृषि प्रणाली र जीव–जन्तुको वासस्थानका हिसाबले चुरे क्षेत्रको महत्व अतुलनीय छ। तर, पछिल्ला वर्षहरूमा चुरे दोहन, अतिक्रमण, अवैज्ञानिक उत्खनन र योजनाविहीन विकासका कारण यो क्षेत्र गम्भीर संकटमा पर्दै गएको छ।
चुरे क्षेत्रबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा) को अत्यधिक दोहन भइरहेको छ, जसको असर तराईको भूमिगत जलस्रोत सुक्खा हुँदै जानु, खेतीयोग्य जमिन बगरमा रूपान्तरण हुनु, र बाढीपहिरोको जोखिम बढ्नुका रूपमा देखिन्छ।
अवैज्ञानिक रूपमा सडक निर्माण, बस्ती विस्तार, र वन फँडानीले गर्दा भूक्षय तीव्र गतिमा बढिरहेको छ। यस्ता गतिविधिहरू न त स्थानीय आवश्यकता हेरेर गरिएका छन्, न त दीर्घकालीन दृषिकोण राखिएको छ।
चुरे क्षेत्रको संरक्षणमा अपेक्षित काम नहुँदा प्राकृतिक सम्पदा, जलस्रोत र वातावरणमा गम्भीर असर परेको छ ।
चुरे क्षेत्र नेपालको मेचीदेखि महाकालीसम्मका ३६ जिल्लामा फैलिएको छ । यसलाई सिबालिक क्षेत्र पनि भनिन्छ ।
कुल ३६ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको चुरेले नेपालमा करिब २० प्रतिशत भूभाग ओगटेको छ । यसले तराईको जलप्रवाह नियन्त्रण, माटोको संरक्षण तथा जैविक विविधताको संरक्षणमा प्रमुख भूमिका खेलेको छ ।
सरकारले चुरे संरक्षणका लागि केही नीति तथा कार्यक्रम अघि सारे पनि तिनको कार्यान्वयन कमजोर देखिन्छ। 'राष्ट्रको मुटु' भनिने चुरे क्षेत्रको संरक्षणमा देखिएको राजनीतिक असंवेदनशीलता र प्रशासनिक कमजोरीले चिन्ताजनक अवस्था सिर्जना गरेको छ।
विशेषगरी स्थानीय र प्रादेशिक सरकारहरू बीचको समन्वयहीनता, कानुनी खुकुलोपन, र पहुँचवाला व्यक्तिहरूको दोहनमुखी मानसिकता चुरे संकटको मूल जरो हो।
अब समय आएको छ, चुरे संरक्षणलाई भाषणको विषय मात्र होइन, व्यवहारमा उतार्न।
चुरे क्षेत्रको समग्र संरक्षणका लागि निम्न उपायहरूमा गम्भीर ध्यान दिनु आवश्यक छ: वैज्ञानिक अध्ययनमा आधारित दीर्घकालीन संरक्षण योजना लागू गर्नुपर्छ। अवैध उत्खननमा कडा निगरानी र कारबाहीको व्यवस्था हुनुपर्छ।
चुरेसँग जोडिएका स्थानीय समुदायलाई संरक्षणमा सहभागी बनाउँदै वैकल्पिक रोजगारीको अवसर सिर्जना गर्नुपर्छ। संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयात्मक संरचना आवश्यक छ।
चुरे संरक्षण केवल पर्यावरणको विषय होइन, यो भविष्यको पुस्ताका लागि सुरक्षित जीवनको आधार हो।
आज संरक्षण नगरे समयमै चुरे खिइन्छ, तराई सुक्खा बन्छ, र लाखौं जनताको जीवन संकटमा पर्छ। त्यसैले अब गम्भीर बन्ने समय आएको छ – "चुरे बचाऊँ, भविष्य जोगाऊँ।"