क्वालालम्पुर । मलेसियाले १६ वर्षभन्दा कम उमेरका
बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको
छ। सोमबारदेखि कार्यान्वयनमा आएको नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबलगायत
सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्।
नयाँ व्यवस्थाले सामाजिक सञ्जाल कम्पनीहरूलाई प्रयोगकर्ताको
उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्न तथा नाबालिगलाई खाता दर्ता गर्न नदिने
जिम्मेवारी तोकेको छ। नियम उल्लङ्घन गर्ने कम्पनीलाई एक करोड मलेसियन रिङ्गिटसम्म
जरिवाना गर्ने प्रावधानले सरकारको प्रतिबद्धता स्पष्ट देखाउँछ।
डिजिटल प्रविधिको तीव्र विस्तारसँगै बालबालिका अनलाइन हिंसा, साइबर
दुर्व्यवहार, मानसिक दबाब, गलत सूचना र
हानिकारक सामग्रीको जोखिममा पर्दै आएका छन्। सामाजिक सञ्जालको अत्यधिक प्रयोगले
उनीहरूको मानसिक स्वास्थ्य, सामाजिक व्यवहार र शैक्षिक गतिविधिमा समेत
असर पारिरहेको विभिन्न अध्ययनले देखाएका छन्। यस्तो अवस्थामा मलेसियाको कदमलाई
बालबालिकाको डिजिटल सुरक्षाका लागि महत्त्वपूर्ण प्रयासका रूपमा लिन सकिन्छ।
सरकारले अभिभावकलाई दण्डित गर्नेभन्दा सामाजिक सञ्जाल
कम्पनीहरूलाई उत्तरदायी बनाउने नीति अवलम्बन गरेको छ। यसले डिजिटल प्लेटफर्महरूले
आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने सन्देश पनि दिएको छ। बालबालिकालाई
इन्टरनेटबाट पूर्ण रूपमा टाढा राख्ने होइन, बरु सुरक्षित र
उमेरअनुकूल डिजिटल वातावरण निर्माण गर्ने उद्देश्य रहेको सरकारी भनाइ सान्दर्भिक
देखिन्छ।
मलेसियासँगै अस्ट्रेलिया, ब्राजिल, इन्डोनेसियालगायत देशहरूले पनि यस्तै कडा नीति अपनाइसकेका छन् भने अन्य धेरै राष्ट्रहरू पनि त्यसतर्फ अग्रसर छन्। नेपालसहित विकासोन्मुख देशहरूका लागि पनि यो विषय गम्भीर बहसको विषय बन्न सक्छ। डिजिटल युगमा बालबालिकाको अधिकार र सुरक्षाबीच सन्तुलन कायम गर्दै सुरक्षित अनलाइन वातावरण निर्माण गर्नु आजको प्रमुख चुनौती बनेको छ।