शुक्र, ०१ जेठ २०८३ / May 15, 2026, Friday
शुक्र, ०१ जेठ २०८३
Advertisement
banner add

स्ट्राइकर भनिएको दाबीपछि एमबाप्पे–आर्बेलोआ विवाद चर्कियो चौथो रोजाइको

banner add
writter
शुक्र, ०१ जेठ २०८३
(Shares)

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत बिहीबार सम्पन्न रियल मड्रिड र रियल ओभिएदोबीचको खेलपछि फ्रान्सेली स्टार किलियन एमबाप्पेको अभिव्यक्तिले क्लबभित्र नयाँ विवाद सिर्जना गरेको छ। एमबाप्पेले प्रशिक्षक आल्भारो आर्बेलोआले आफूलाई टोलीको “चौथो रोजाइको स्ट्राइकर” भनेको दाबी गरेका हुन्।

ह्यामस्ट्रिङ चोटबाट पूर्ण रूपमा निको भइसकेको बताउँदै एमबाप्पेले आफू सुरुदेखि मैदान उत्रिन तयार रहे पनि प्रशिक्षकले बेन्चमै राख्ने निर्णय गरेको उल्लेख गरे। उनका अनुसार टोलीमा फ्रान्को मास्तान्तुओनो, भिनिसियस जुनियर र गोन्जालो गार्सियापछि आफूलाई चौथो विकल्पका रूपमा प्रस्तुत गरिएको थियो।

एमबाप्पेले प्रशिक्षकको निर्णयप्रति असन्तुष्टि नराख्ने स्पष्ट पार्दै आफूले त्यसको सम्मान गर्ने बताए। “म फिट थिएँ र खेल्न तयार पनि थिएँ। तर अन्तिम निर्णय प्रशिक्षककै हुन्छ। म मेहनत गरिरहन्छु र फेरि सुरुआती टोलीमा स्थान बनाउने प्रयास जारी राख्नेछु,” उनले भने।

यद्यपि, प्रशिक्षक आर्बेलोआले भने एमबाप्पेको दाबी अस्वीकार गरेका छन्। उनले आफूले कहिल्यै पनि एमबाप्पेलाई चौथो रोजाइको स्ट्राइकर नभनेको प्रतिक्रिया दिए। “मसँग चार जना स्ट्राइकर नै छैनन्। मैले त्यस्तो कुनै टिप्पणी गरेको छैन। सायद उनले मेरो भनाइ फरक ढंगले बुझे,” आर्बेलोआले स्पष्ट पारे।

रियल मड्रिडका लागि पछिल्ला दिन तनावपूर्ण बनेका छन्। केही दिनअघि प्रशिक्षणका क्रममा खेलाडीबीच विवाद भएपछि क्लबले फेडेरिको भाल्भेर्दे र ओरेलियाँ चुआमेनीलाई पाँच लाख युरो जरिबाना गरेको थियो। त्यसको लगत्तै आइतबार भएको ‘एल क्लासिको’मा बार्सिलोनासँग २–० ले पराजित भएपछि ला लिगा उपाधि पनि बार्सिलोनाले हात पारेको थियो।

यसैबीच क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफूविरुद्ध योजनाबद्ध अभियान चलाइएको आरोप लगाउँदै नयाँ निर्वाचनको मागसमेत उठाएका छन्।

ओभिएदोविरुद्धको खेलमा एमबाप्पे ६८औं मिनेटमा मैदान प्रवेश गर्दा सान्टियागो बेर्नाबेउमा उपस्थित केही समर्थकले उनलाई हुटिङ गरेका थिए। तर उनले ७९औं मिनेटमा जुड बेलिङ्घमको गोलका लागि असिस्ट गर्दै टोलीलाई २–० को जित दिलाउन महत्वपूर्ण भूमिका खेले।

एमबाप्पेमाथि केही समर्थकले विश्वकपलाई ध्यानमा राख्दै आफूलाई जोगाएर खेलिरहेको आरोप पनि लगाएका छन्। चोटका कारण विश्राममा रहेका बेला उनी अभिनेत्री एस्टर एक्सपोसितोसँग इटाली भ्रमणमा गएको समाचार सार्वजनिक भएपछि स्पेनिस मिडियाले उनको पुनःस्थापनाप्रति गम्भीरता नभएको टिप्पणी गरेका थिए।

तर एमबाप्पेले भने उक्त भ्रमण क्लबको अनुमतिमा भएको भन्दै आलोचनाको खण्डन गरेका छन्। “मसँग क्लबको स्वीकृति थियो। म एक्लै बाहिर गएको पनि होइन। यस्ता विषयलाई सामान्य रूपमा लिनुपर्छ,” उनले प्रतिक्रिया दिए।

दुई सिजनअघि ठूलो आशासहित रियल मड्रिड पुगेका एमबाप्पेले हालसम्म अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको आलोचना खेपिरहेका छन्। उनी क्लबमा आबद्ध भएपछि रियलले अहिलेसम्म कुनै ठूलो उपाधि जित्न सकेको छैन।

 

ads
ads
add
banner add

सम्बन्धित खबर