स्थानीय सरोकार/सिन्धुपाल्चोक – जिल्लाका स्थानीय तहहरूबीच गरिएको संस्थागत क्षमता स्वमूल्याङ्कनमा मेलम्ची नगरपालिका उत्कृष्ट ठहरिएको छ। विभिन्न सूचकहरूमा उच्च अंक प्राप्त गर्दै मेलम्चीले ८८.२५ अंक हासिल गरी जिल्लाकै पहिलो स्थान हात पारेको हो ।
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयजस्ता सूचकमा प्राप्त अंकको आधारमा मेलम्ची उत्कृष्ट ठहरिएको हो ।
मेलम्ची नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ९ीक्ष्क्ब्० मा ९१ अंक दाबि गरेको थियो । शासकीय प्रवन्ध १०० प्रतिशत, संगठन तथा प्रशासन १०० प्रतिशत, वार्षिक बजेट तथा योजना व्यवस्थापन ९०.९१ प्रतिशत, वित्तीय एवम् आर्थिक व्यवस्थापन ९०.९१ प्रतिशत, सेवा प्रवाह ९६.८८ प्रतिशत, न्यायिक कार्य सम्पादन १०० प्रतिशत, भौतिक पूर्वाधार ८८.४६ प्रतिशत, सामाजिक समावेशीकरण ७० प्रतिशत, वातावरण संरक्षण तथा विपद व्यवस्थापन ७७.७८ प्रतिशत, सहकार्य र समन्वय १०० प्रतिशत अंकभार प्राप्त गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरूको संस्थागत क्षमता मूल्याङ्कनले नगरपालिकाहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाएको छ।
मेलम्ची नगरपालिकाले हासिल गरेको सफलता स्थानीय सेवा प्रवाह, योजनाको प्रभावकारी कार्यान्वयन र जनतालाई दिइरहेको प्रत्यक्ष सुविधा नै यसको आधार बनेको देखिएको छ ।
महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनले मुलुकभरका विभिन्न निकाय र स्थानीय तहमा आर्थिक अनियमितता, कमजोरी र सुधारका आवश्यकता औंल्याएको छ। यसै सन्दर्भमा मेलम्ची नगरपालिकासमेत प्रतिवेदनमा समेटिएको तथ्य महत्त्वपूर्ण छ। स्थानीय सरकारलाई जनताले सर्वाधिक नजिकको सरकारका रूपमा हेर्ने गरेका छन्। त्यसैले नगरपालिकामा हुने हरेक आर्थिक गतिविधि पारदर्शिता, जवाफदेहिता र नियमअनुसार हुन आवश्यक छ।
प्रतिवेदनमा मेलम्ची नगरपालिकामा लेखा व्यवस्थापन, बजेट कार्यान्वयन, योजना छनोट तथा कार्यान्वयन प्रक्रियामा कमजोरी देखाइएको छ। कतिपय योजनामा अनुमानित मूल्यांकन र वास्तविक खर्चबीच असमानता रहेको, सार्वजनिक खरिद नियमावलीअनुसार प्रक्रिया पूरा नगरी ठेक्का सम्झौता गरिएको, सम्पत्ति दर्ता, अभिलेख व्यवस्थापन र राजस्व संकलनमा आवश्यक ध्यान नदिइएकोजस्ता टिप्पणी गरिएको छ।
यस्ता टिप्पणी केवल आलोचनाका लागि मात्र नभई सुधारको अवसरका रूपमा लिनु जरुरी छ। स्थानीय सरकार जनताका करबाट सञ्चालित हुन्छन्। त्यसैले स्थानीय तहले खर्च गर्ने प्रत्येक रुपैयाँको उचित जवाफ दिनुपर्छ। महालेखा परीक्षकको प्रतिवेदनलाई गम्भीरतापूर्वक कार्यान्वयन गरेर मात्र पारदर्शिता र सुशासनमा विश्वास जगाउन सकिन्छ।
यस नगरपालिका सिन्धुपाल्चोक जिल्लाको संस्थागत क्षमता स्वमूल्याङ्कनमा मेलम्ची नगरपालिका उत्कृष्ट र महालेखा परीक्षक ६२ औँ वार्षिक प्रतिवेदन २१ औँ अनुसूचि प्रतिवेदनमा १ प्रतिशतले सुधारउन्नमुख रहेको देखिन्छ ।
मेलम्ची नगरपालिका मात्र होइन, सबै स्थानीय तहहरूले आफ्ना आन्तरिक लेखापरीक्षण प्रणालीलाई सबल बनाउनुपर्छ। खर्चपूर्व नियन्त्रण, योजनाको गुणस्तरीय कार्यान्वयन, समयमै सार्वजनिक विवरण प्रकाशन र जिम्मेवार निकायलाई कारबाहीको प्रावधान लागू गर्न सकेमा स्थानीय तहप्रति जनविश्वास अझ मजबुत हुनेछ।
यो खबर स्थानीय सरोकार पत्रिकाको असोज अंकमा प्रकाशन भएको छ ।