बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

बालबालिकाको अस्थायी तथा वैकल्पिक स्याहारका लागि काठमाडौँ महानगरपालिका र एसओएस बालग्राम बिच समझदारी

banner add
writter
बिहि, १८ मंसिर २०८२
(Shares)

काठमाडौँ ।  अस्थायी संरक्षण र वैकल्पिक स्याहारको आवश्यकता भएका बालबालिकाहरुको सर्वोत्तम हितमा काम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले एसओइस बालग्रामसँग सहमति गरेको छ । आज महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र कार्यपालिका सदस्य महेश नेपालीको रोहवरमा सामाजिक विकास विभागका प्रमुख समिक्षा निरौला र बालग्रामका राष्ट्रिय निर्देशक डा. गंगाबहादुर गुरुङ्ले हस्ताक्षर गर्नुभएको हो । 

सम्झौतापछि उपप्रमुख डंगोलले, जैविक अभिभावक नभएका बालबालिकाको सुरक्षित भविष्यका लागि महत्वपूर्ण काम थालनी भएको बताउनुभयो । ‘जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेर ल्याएका बालबालिका झन खराव अवस्थामा पुग्ने हुन् कि भन्ने चिन्ता भइरहन्थ्यो । बाल संरक्षणमा बर्षौँ काम गरेको बालग्रामसँगको सहकार्यले त्यो चिन्ता कम भएको छ ।’ उहाँले भन्नुभयो, ‘बालबालिकाको शारीरिक र मानसिक विकास तथा भावनात्मक अवस्था व्यवस्थापनमा काम गर्न सामान्य कुरा होइन । बालबालिकामा आत्मविश्वाश जगाउन, सुरक्षित र आत्मनिर्भरतायुक्त भविष्य निर्माण गर्न संवेदनशील भएर काम गरौँ ।’

‘बाल सुरक्षाका लागि महानगरपालिकाले नीति, योजना तथा कार्यक्रममार्फत संस्थागत प्रयत्न गरेको छ ।’ प्रमुख प्रकासकीय अधिकृत सरोज गुरागाईँले भन्नुभयो, ‘ज्ञान, स्रोत र सिपमा सहकार्य गरेपछि दिगो नतिजा प्राप्त हुन्छ ।’ 

बालग्रामका राष्ट्रिय निर्देशक गुरुङ्ले, ५३ वर्षदेखि बालबालिकाको संरक्षणमा काम गर्दै आएको संस्थाले महानगरपालिकासँग सहमति गरेर पहिलो पटक स्थानीय सरकारसँग सहकार्य गरेको बताउनुभयो । वार्षिक २० हजार भन्दा धेरै बालबालिकाका काम सेवा गर्दै आएको बताउँदै उहाँले, बालबालिकाको सर्वोपरि हित बढाउनु नै सहकार्यको मुख्य ध्येय रहेको बताउनुभयो । 

महानगरपालिका क्षेत्र भित्र जोखिममा परेका वा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको अस्थायी संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक पुनर्मिलन, पुनःस्थापना, वैकल्पिक हेरचाह, परिवार सहयोग, सामाजिक सुरक्षा, सामाजिकीकरण लगायत सेवाका लागि समझादारी भएको हो ।  

अभिभावक गुमाएका, गुमाउने जोखिममा रहेका, वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिकाको जोखिम र आवश्यकता मूल्याङ्कनका आधारमा कार्यक्रम सञ्चालन हुनेछ । यसका लागि दुवै पक्ष सम्मिलित समाजसेवी बालमनोविज्ञ सहितको संयुक्त टोलीले दिएको प्रतिवेदनलाई आधार मानिनेछ । 

यसरी जोखिममा देखिएका तर, जैविक परिवारसँग रहने वा बस्ने अवस्था रहेमा परिवार सबलीकरण कार्यक्रम मार्फत शिक्षा, स्वास्थ्य, पोषण र जीविकोपार्जन सहायता प्रदान गरेर जैविक परिवारको सरंक्षणमा रहने व्यवस्था मिलाउनेछ । जैविक परिवारसँग रहने वा बस्ने अवस्था नरहेमा पालनपोषण, शिक्षा, स्वास्थ्य लगायतको सुविधा सहित एसओएसद्वारा सञ्चालित परिवारमा आधारित हेरचाह कार्यक्रममा रहने व्यवस्था मिलाइनेछ । 

अन्य कुनै बालगृहको संरक्षणमा रहेका १४ वर्षभन्दा माथिका बालबालिकाको हकमा महानगरपालिकाको शिफारिसमा एसओएसले सञ्चालन गरेका व्यावसायिक तालिम केन्द्रमा उपलब्ध तालिमका विषय र सिट संख्याको आधारमा प्रशिक्षण प्रदान गरिनेछ । उद्धार गरिएका, अभिभावक गुमाएका र जैविक बाबुआमा पहिचान नभएका बालबालिकाको अस्थायी संरक्षणका लागि एसओएसको अस्थायी संरक्षण गृहमा वार्षिक १० जनाका लागि कोटा  व्यवस्था गरी सेवा उपलब्ध गराउनेछ । 

यदि परिवार फेला नपरेमा वा परिवारमा फर्काउन बालबालिकाको सर्वाेत्तम हित अनुकुल नभएमा हुने नदेखिएका बालकालिका, अपाङ्गताका कारण विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाहरुलाई स्वास्थ्य, शिक्षा, स्याहारलगायत सेवा प्रदान गरिनेछ । 

वैकल्पिक स्याहार, बाल संरक्षण लगायतका विषयमा पृष्ठपोषण, नियमित समीक्षा बैठक, तालिम, बाल गृहहरूका हेरचाहकर्ता र व्यवस्थापकका लागि तालिम सञ्चालन गरिनेछ । 

यसरी प्रदान गरिएको सेवाका बारेमा दोस्रो पक्ष (बालग्राम) ले पहिलो १५ दिनमा एक पटक र त्यसपछि हरेक ६ महिनामा बालबालिकाको स्थिति प्रतिवेदन बुझाउनु पर्नेछ । दोस्रो पक्षको संरक्षणमा रहेको बालबालिकाको घटना व्यवस्थापन गर्दा आवश्यक कागजात, अभिलेखीकरण तथा पारिवारिक भेटघाट गराउन आवश्यक पर्ने समन्वय महानगरपालिकाले गर्नेछ । 

समझदारी आजैदेखि आउँदो ५ वर्षसम्मका लागि हो । 

ads
ads
add
banner add

सम्बन्धित खबर