फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ नजिक सोमबार बिहान ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु साराङ्गानी प्रान्तको तटीय क्षेत्र नजिक रहेको बताइएको छ। प्रारम्भिक रूपमा ७ म्याग्निच्यूड मापन गरिएको भूकम्पलाई पछि संशोधन गरी ७.८ म्याग्निच्यूड कायम गरिएको हो।
भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया, जापान तथा अमेरिकी सुनामी चेतावनी प्रणालीले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै सुनामी चेतावनी जारी गरेका छन्। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थान (PHIVOLCS) ले सामान्य ज्वारभाटाभन्दा १ देखि ३ मिटरसम्म अग्ला छाल आउन सक्ने चेतावनी दिएको छ।
सुनामीको उच्च जोखिमलाई ध्यानमा राख्दै फिलिपिन्स सरकारले साराङ्गानीसहित आठ तटीय प्रान्तका नागरिकलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान निर्देशन दिएको छ। संस्थानका अनुसार सुनामीका छालहरू केही घण्टासम्म जारी रहन सक्ने भएकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
भूकम्पपछि शक्तिशाली पराकम्पहरू पनि महसुस गरिएको छ। प्रभावित क्षेत्रमा विद्युत् तथा दूरसञ्चार सेवा अवरुद्ध भएको, केही भवनमा क्षति पुगेको र क्षतिको विवरण संकलन भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन्। हालसम्म ठूलो मानवीय क्षतिको आधिकारिक पुष्टि नभए पनि केही स्थानमा क्षति तथा घाइते भएका घटनाको विवरण आउने क्रम जारी छ।
भूकम्पको प्रभाव मिन्डानाओका विभिन्न सहरहरूमा महसुस गरिएको थियो। अधिकारीहरूले नागरिकलाई अफवाहमा नलाग्न, सरकारी सूचना मात्रै पछ्याउन तथा तटीय क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन्।