काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति
रवि लामिछाने आज सोमबार भारत भ्रमणमा जानलागेका हुन्। भारतको सत्तारुढ दल भारतीय
जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने भारतको
पाँच दिने भ्रमणमा तय भएको हो । नयाँ दिल्लीमा रहँदा उहाँले भारतीय जनता पार्टीको
उच्च नेतृत्व र उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको
बुझिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री
एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल लगायतसँग सभापति लामिछानेको
भेटवार्ता हुने भएको हो। मंगलबार भाजपा अध्यक्ष नवीनले लामिछानेलाई भाजपा
मूख्यालयमा स्वागत गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणको बारेमा सभापति
लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि निरन्तर छलफल गरिरहेको बुझिएको छ ।
सभापति लामिछानेको भ्रमण टोलीमा पत्नी निकिता पौडेल, स्वकीय
सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग
प्रमुख दीपक बोहरा रहने भएका रास्वपाले जनाएको हो ।
सभापति रवि लामिछानेको भारत भ्रमणलाई नेपालको समकालीन
राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। भारतीय जनता पार्टी
(भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा हुन लागेको पाँचदिने भ्रमण केवल
औपचारिक भेटघाटमा सीमित नरही नेपाल–भारत सम्बन्ध, क्षेत्रीय
राजनीति र रास्वपाको अन्तर्राष्ट्रिय पहुँच विस्तारसँग जोडिएको विषय बनेको छ।
भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा भाजपा नेतृत्वसहित
विभिन्न राजनीतिक तथा कूटनीतिक व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको
बताइएको छ। द्विपक्षीय सम्बन्ध, राजनीतिक सहकार्य तथा संगठनात्मक
अनुभव आदानप्रदानका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
रास्वपाका अनुसार लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा सह-महामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा, निकिता पौडेल लगायत सहभागी रहनेछन्। भ्रमणका क्रममा भारतस्थित नेपाली समुदायसँग अन्तरक्रिया र अयोध्या भ्रमणको कार्यक्रम पनि तय गरिएको छ।
नेपाल–भारत सम्बन्धका सन्दर्भमा चासोका साथ हेरिएको यो भ्रमणलाई रास्वपा र भाजपा बीचको पार्टी-टु-पार्टी सम्बन्ध विस्तार गर्ने प्रयासका रूपमा समेत व्याख्या गरिएको छ।