काठमाडौँ । प्रहरी र
सञ्चारमाध्यमबीचको सम्बन्ध लोकतान्त्रिक शासन व्यवस्थामा पारदर्शिता, जवाफदेहिता र सुशासनसँग जोडिएको हुन्छ। प्रहरी संगठन
राज्यको सुरक्षा र कानुन कार्यान्वयन गर्ने निकाय हो भने पत्रकारिता राज्यका
निकायलाई नागरिकप्रति उत्तरदायी बनाउने महत्वपूर्ण माध्यम हो। यी दुवै संस्थाको
आ–आफ्नै भूमिका र जिम्मेवारी छन्। त्यसैले प्रहरी र पत्रकारबीच सहकार्य, विश्वास र व्यावसायिक सम्बन्ध हुनु आवश्यक छ।
प्रहरी महानिरीक्षक (आईजीपी) कार्कीले
‘नेपाल प्रहरीले
सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण
एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ,’ महानिरीषक कार्कीले फेसबुकमा लेखेका छन्, ‘साथै, सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग
गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ ।‘
उनले विपद्को असर कम गर्न अभूतपूर्व सहकार्यको आग्रह गर्दै संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने पनि उल्लेख गरेका छन् ।
पत्रकारबाट
तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गरेको अभिव्यक्तिले पत्रकारिताको मूल
मर्मलाई पुनःस्मरण गराएको छ।
पत्रकारले कुनै पनि विषयमा समाचार
सम्प्रेषण गर्दा तथ्य, प्रमाण र
विश्वसनीयतालाई प्राथमिकता दिनुपर्छ।
अपराध, भ्रष्टाचार, अनियमितता र सार्वजनिक सरोकारका
विषयमा निर्भीक भएर कलम चलाउनु पत्रकारको व्यावसायिक दायित्व हो। तर साहसिक रिपोर्टिङको
अर्थ अपुष्ट सूचना फैलाउनु वा कसैको प्रतिष्ठामाथि आधारहीन प्रहार गर्नु होइन।
यद्यपि, पत्रकारबाट तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्ने प्रहरी नेतृत्वले
पनि आलोचनात्मक पत्रकारितालाई सहज रूपमा स्वीकार गर्न सक्नुपर्छ।
प्रहरीका कामकारबाहीमाथि प्रश्न
उठाउनु, अनुसन्धान प्रक्रियाबारे सूचना माग्नु
वा प्रहरी संगठनभित्रका कमजोरी सार्वजनिक गर्नु पत्रकारको अधिकार र जिम्मेवारी
दुवै हो। समाचारप्रति असहमति भए त्यसको जवाफ तथ्य र प्रमाणबाट दिनुपर्छ, दबाब, धम्की वा
पक्राउको माध्यमबाट होइन।
अर्कोतर्फ, पत्रकारले पनि प्रहरीसँगको सम्बन्धलाई समाचारको स्रोत र सूचनामा पहुँचका रूपमा मात्र सीमित गर्नु हुँदैन। प्रहरीको आधिकारिक धारणा, पीडितको अवस्था, घटनास्थलको वास्तविकता र उपलब्ध प्रमाणका आधारमा सन्तुलित समाचार तयार गर्नुपर्छ।
प्रहरीको भनाइ मात्रै समाचारको अन्तिम सत्य हुन सक्दैन। स्वतन्त्र
पुष्टि र बहुपक्षीय दृष्टिकोण पत्रकारिताका आधारभूत सर्त हुन्।
नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको छ। यस्तो अवस्थामा प्रहरी संगठनले प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारलाई सूचना प्राप्तिमा सहजीकरण गर्नुपर्छ। पत्रकारले पनि आफ्नो स्वतन्त्रता र अधिकारसँगै व्यावसायिक आचारसंहिताको पालना गर्नुपर्छ।
प्रहरी र पत्रकार प्रतिस्पर्धी होइनन्, दुवै सार्वजनिक हितका लागि जिम्मेवार संस्था हुन्। प्रहरीबाट पारदर्शिता र जवाफदेहिता तथा पत्रकारबाट निष्पक्षता, तथ्यपरकता र निर्भीकताको अपेक्षा स्वाभाविक हो।
आईजीपी
कार्कीको अपेक्षा व्यवहारमा उतार्न प्रहरी संगठनले आलोचनालाई सम्मान गर्ने संस्कार
विकास गर्नुपर्छ भने पत्रकारले सत्यको खोजीमा कुनै दबाबसँग सम्झौता गर्नु हुँदैन।