कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको शव पहिचान भएको छ।
पाल्पाको तानसेन नगरपालिका–१० घर भएका ३४ वर्षीय विष्ट इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत थिए। बाढीपछि बेपत्ता भएका उनको शव गोरखामा फेला परेको थियो।
शव व्यवस्थापनका लागि पोखरा महानगरपालिका–१० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो। शनिबार मृतक विष्टका दाजु दीपकबहादुर विष्टले शवको सनाखत गरेका हुन्। पहिचानपछि परिवारले अन्त्येष्टिका लागि शव घर लगेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार रसुवा बाढीपछि विभिन्न जिल्लामा फेला परेका १०२ शव पोखरा ल्याइएको छ। शनिबार साँझसम्म ५० शवको परीक्षण सम्पन्न भएकोमा १२ शवको पहिचान भइसकेको उनले जानकारी दिए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पहिचानका लागि बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारजन आउने क्रम बढिरहेको छ। पहिचान प्रक्रियालाई सहज बनाउन प्रतिष्ठानमा स्क्रिनमार्फत शवका तस्बिर हेर्ने व्यवस्था मिलाइएको छ।
शव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले शव व्यवस्थापनको काम निरन्तर भइरहेको जानकारी दिए।