काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट परिचालित टोलीले भारतसँग सीमा जोडिएका तराईका जिल्लाबाट लागूऔषध खैरो हेरोइन खरिद गरी काठमाडौं उपत्यकामा बिक्री गर्ने व्यक्तिहरूको प्रोफाइलिङ गर्दै उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
ब्यूरोका अनुसार पक्राउ परेकाहरूबाट कुल १४८.९५ ग्राम खैरो हेरोइन, डिजिटल तराजु दुई थान र नेपाली नगद १० हजार रुपैयाँ बरामद भएको छ।
गत साउन ४ गते सिरहा नगरपालिका–१४ का २७ वर्षीय रितेश कुमार यादव र सिरहा मिर्चैया नगरपालिका–३ का २२ वर्षीय अभिषेक यादवलाई ३७ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको थियो।
त्यस्तै, साउन ५ गते मोरङ बेलबारी नगरपालिका–१० का २९ वर्षीय मनोज बस्नेतलाई १३.९५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
साउन ६ गते सांकेतिक ठेगाना जिल्ला–३२ भएका १७ वर्षीय एक किशोरलाई ९८ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ। नाबालक भएकाले उनलाई प्रचलित बालबालिकासम्बन्धी कानुनअनुसार निगरानी कक्षमा राखी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।