प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरी अधिकारी लुम्बिनी प्रदेशकै ‘साउन महिनाको उत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरका प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्रबहादुर खत्रीले डीएसपी अधिकारीलाई साउन महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेका हुन् ।
प्रदेश प्रहरी कार्यालयले संगठनात्मक नीति–निर्देशनअनुसार प्रदान गरिएको व्यावसायिक जिम्मेवारी तथा पदीय दायित्वलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्दै मातहत प्रहरी कर्मचारीको उत्प्रेरणा र अभिवृद्धिसँगै अपराध अनुसन्धान, नियन्त्रण एवं नवीन प्रवर्तनात्मक कार्यक्रममार्फत आम जनसमुदायमा प्रहरी संगठनको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै अधिकारीलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार अधिकारीको नेतृत्वमा प्युठानमा प्रहरीको जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुका साथै अपराध अनुसन्धान तथा नियन्त्रणमा सक्रियता देखाइएको छ । साथै, मातहतका प्रहरी कर्मचारीलाई व्यावसायिक रूपमा परिचालन गर्दै प्रहरी सेवाप्रति जनविश्वास अभिवृद्धिमा समेत योगदान पुर्याएको मूल्यांकन गरिएको छ।
डीआईजी खत्रीले अधिकारीलाई प्रदान गरेको प्रशंसापत्रमा संगठनात्मक नीति निर्देशनअनुसार आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै अपराध अनुसन्धान, नियन्त्रण तथा नवीन कार्यक्रममार्फत समुदायमा प्रहरी संगठनको सकारात्मक छवि निर्माणमा पुर्याएको योगदानको कदर गर्दै २०८३ साल साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ छनोट गरिएको उल्लेख छ।