धादिङ । गत भदौ १० र १४ गते भोटेकोशी र त्रिशूली नदीमा आएको
बाढीबाट प्रभावित धादिङका नागरिकलाई राहत सामाग्री वितरण गरिएको छ ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद
पाण्डेको पहलमा र मरकाजी जमियत अहले हदीस नेपालले साउदी अरेबिया राजपरिवारको
सहकार्यमा धादिङका गल्छी र गजुरी गाउँपालिका क्षेत्रका एक हजार परिवारलाई
खाद्यात्रलगायतका राहत सामग्री वितरण गरेकोे हो । राहत प्याकेजमा प्रतिपरिवार १०
केजी चामल, ५ केजी दाल, ५ केजी चना, ५ लिटर
खानेतेल, २ केजी पास्ता, २ केजी नुन तथा
चाउचाउलगायत खाद्यात्र सामग्री छ ।
आज गजुरीको बेल्खुबजार, गलौँदी बजार, चाम्बास, बिहानीपम्पलगायतका
स्थानमा पुगेर बाढीपीडित ५०० परिवारलाई राहत सामग्री उपलब्ध गराइएको मरकाजी जमियत
अहले हदीस नेपालका महासचिव अजिजुर रहमानले जानकारी दिए ।
यसअघि गल्छी गाउँपालिकाका ५०० बाढीपीडित परिवारलाई पनि सोही परिमाणको राहत सामग्री वितरण गरिसकिएको छ । राहत अभियानलाई थप विस्तार गर्दै सिद्घलेक र बेनिघाट रोराङ गाउँपालिकाका थप ५०० परिवारका लागि समेत राहत वितरण गर्ने कार्यक्रम रहेको महासचिव रहमानले बताए । यससँगै चार स्थानीय तहका गरी कुल २ हजार परिवारलाई राहत उपलब्ध गराउने लक्ष्य रहेको छ ।
यसअघी गल्छी गाउँपालिकामा राहत वितरणका क्रममा साउदी
अरेबियाका राजपरिवारका प्रतिनिधि तथा नेपालस्थित साउदी अरेबियाली दूतावासका
प्रतिनिधिसमेत सहभागी भएका थिए ।