शनि, ०५ मंसिर २०८३ / November 21, 2026, Saturday
शनि, ०५ मंसिर २०८३
Advertisement
banner add

लागूऔषध तस्करी प्रकरणमा मृत्युदण्ड सुनाइएकी प्रस्तोता सारा खलिफा

banner add
writter
शनि, ०५ मंसिर २०८३
(Shares)

कायरो । इजिप्टकी चर्चित टेलिभिजन प्रस्तोता सारा खलिफाले आफूलाई सुनाइएको मृत्युदण्डको फैसलाविरुद्ध कानुनी लडाइँ लड्ने भएकी छन्। कृत्रिम लागूऔषध उत्पादन तथा अन्तर्राष्ट्रिय तस्करी सञ्जालमा संलग्न रहेको अभियोगमा मृत्युदण्ड सुनाइएपछि उनका कानुनी प्रतिनिधिले फैसलाविरुद्ध अपिल गर्ने घोषणा गरेका हुन्।

कायरोस्थित अदालतले शनिबार खलिफासहित १२ जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो। उनीहरूमाथि ठूलो परिमाणमा कृत्रिम लागूऔषध उत्पादन, भण्डारण र तस्करी गर्ने संगठित सञ्जाल सञ्चालन गरेको आरोप छ। अदालतले मृत्युदण्ड पाएका प्रत्येक व्यक्तिलाई पाँच लाख इजिप्टियन पाउन्ड जरिवाना पनि तोकेको छ। अन्य नौ जनालाई आजीवन कारावास र सात जनालाई सफाइ दिइएको छ।

खलिफाका भाइ मोहम्मद खलिफा पनि मृत्युदण्डको सजाय पाउनेमध्ये छन्। उनलाई लागूऔषध उत्पादन तथा परीक्षणमा संलग्न रहेको अभियोग लगाइएको थियो।

खलिफाका कानुनी प्रतिनिधि मोहम्मद अल–गेन्डीले फैसलालाई चुनौती दिँदै उपलब्ध सबै कानुनी विकल्प प्रयोग गरिने बताएका छन्। कानुनी प्रक्रियाअनुसार उच्च फौजदारी अदालतले प्रमाण र अभियुक्तहरूको भूमिकामाथि पुनः समीक्षा गर्न सक्नेछ। यस क्रममा सजाय सदर गर्ने, घटाउने वा फैसला उल्ट्याउने सम्भावना रहन्छ। त्यसपछि सर्वोच्च पुनरावेदन अदालतमा समेत मुद्दा पुर्‍याउन सकिने व्यवस्था छ।

मृत्युदण्डको फैसला सुनाउनुअघि मुद्दा खलिफासहित १३ अभियुक्तको हकमा इजिप्टका ग्रान्ड मुफ्तीसमक्ष रायका लागि पठाइएको थियो। मृत्युदण्डसम्बन्धी मुद्दामा यस्तो प्रक्रिया अनिवार्य मानिन्छ। यद्यपि मुफ्तीको राय बाध्यकारी नभएकाले अन्तिम निर्णय अदालतले नै गर्छ।

-         - ७५० किलोग्रामभन्दा बढी लागूऔषध तथा सामग्री बरामद

यो प्रकरण सन् २०२५ अप्रिलमा सार्वजनिक भएको थियो। इजिप्टका लागूऔषध नियन्त्रण अधिकारीहरूले कृत्रिम लागूऔषध उत्पादनका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट आयात गर्ने संगठित सञ्जाल फेला पारेपछि अनुसन्धान सुरु गरेका थिए।

प्रहरीले कायरोका दुईवटा अपार्टमेन्टमा छापा मार्दा करिब २०० किलोग्राम लागूऔषध, उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र उपकरण बरामद गरेको थियो। अनुसन्धान विस्तार हुँदै जाँदा बरामद लागूऔषध तथा अन्य सामग्रीको कुल परिमाण ७५० किलोग्रामभन्दा बढी पुगेको अभियोजन पक्षले जनाएको छ।

करिब ४० दिनको अनुसन्धानपछि अभियुक्तहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। अभियोजन पक्षका अनुसार सञ्जालका सदस्यहरूले कच्चा पदार्थ खरिद, उत्पादन, भण्डारण र वितरणको जिम्मेवारी छुट्टाछुट्टै रूपमा बाँडेर काम गरेका थिए।

मुद्दामा २८ जना अभियुक्तविरुद्ध २० जना साक्षीको बयान तथा मोबाइल सन्देश, तस्बिर र भिडियोसहितका डिजिटल प्रमाण प्रस्तुत गरिएको थियो।

-         - खलिफामाथि आर्थिक सहयोग र सम्पर्क विस्तारको आरोप

अभियोजन पक्षले सारा खलिफामाथि लागूऔषध कारोबारमा आर्थिक सहयोग गरेको र सञ्जालका उच्च तहका सदस्य तथा इजिप्टभित्र रहेका अन्य व्यक्तिबीच सम्पर्क स्थापित गराएको आरोप लगाएको छ।

आरोपअनुसार उनले विदेश यात्रा गरी सञ्जालका वरिष्ठ सदस्यहरूसँग भेटघाट गरेकी थिइन्। विदेशमा रहेका दुई अभियुक्तले चीनबाट लागूऔषध उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ खरिद गरी उत्पादनसम्बन्धी निर्देशनसमेत लिएको अभियोजन पक्षको दाबी छ।

सञ्जालका अन्य सदस्यहरूले प्राप्त निर्देशनअनुसार रसायन मिसाएर लागूऔषध तयार गर्ने, त्यसको प्रभाव परीक्षण गर्ने, तौलिने, प्याकिङ गर्ने र बजारमा वितरण गर्ने गरेको आरोप छ।

अनुसन्धानकर्ताहरूले खलिफाको मोबाइल फोनबाट प्राप्त सामग्रीलाई पनि महत्त्वपूर्ण प्रमाणका रूपमा प्रस्तुत गरेका थिए। फोनमा बरामद लागूऔषधसँग मिल्दोजुल्दो पदार्थका भिडियो र सञ्जालका अन्य सदस्यसँग भएका संवाद भेटिएको उनीहरूको दाबी छ।

त्यस्तै, बरामद एउटा नोटबुकमा नाम, रकम र खर्चसम्बन्धी विवरण खलिफाकै हस्तलिपिमा लेखिएको निष्कर्ष हस्तलिपि परीक्षणबाट निकालिएको अभियोजन पक्षले जनाएको छ। तर खलिफाले भने आफू लागूऔषध कारोबारमा संलग्न रहेको आरोप अस्वीकार गर्दै आएकी छन्।

       -  कुटपिटको अर्को मुद्दामा पनि तीन वर्ष कैद

लागूऔषध प्रकरणमा मृत्युदण्ड सुनाइएकै दिन खलिफाले अर्को मुद्दामा पनि जेल सजाय पाएकी छन्। कायरोको अदालतले कुटपिटसम्बन्धी घटनामा उनलाई तीन वर्ष कैद गर्ने फैसला गरेको हो।

अनुसन्धानकर्ताहरूका अनुसार उनको मोबाइल फोनमा चालकका रूपमा चिनिएका एक युवकलाई घरभित्र कुटपिट गरिएको तथा नग्न अवस्थामा भिडियो खिचिएको दृश्य भेटिएको थियो। उक्त मुद्दामा अन्य दुई अभियुक्तलाई सात–सात वर्ष र अर्का एक जनालाई पाँच वर्ष कैद सजाय सुनाइएको छ।

खलिफा निजी टेलिभिजन च्यानल अल–मेहरवरमा प्रसारण हुने अपराधसम्बन्धी कार्यक्रम ‘मिसन इम्पोसिबल’ सञ्चालन गरेपछि चर्चामा आएकी थिइन्। टेलिभिजन प्रस्तोताका रूपमा परिचित उनी कार्यक्रम व्यवस्थापनसम्बन्धी व्यवसायमा समेत संलग्न थिइन्।

 - इजिप्टमा मृत्युदण्डको प्रयोग बढ्दो

इजिप्टमा गम्भीर प्रकृतिका लागूऔषध उत्पादन तथा तस्करीसम्बन्धी अपराधमा मृत्युदण्डको व्यवस्था कायम छ। मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलका अनुसार सन् २०२५ मा इजिप्टमा २३ जनालाई मृत्युदण्ड दिइएको थियो। यो संख्या सन् २०२४ को १३ भन्दा बढी हो।

संस्थाले प्रत्यक्ष हत्या नगरेका अपराधमा समेत मृत्युदण्डको प्रयोग भइरहेको भन्दै इजिप्टको न्याय प्रणालीमाथि प्रश्न उठाउँदै आएको छ।

खलिफाको हकमा भने मृत्युदण्डको फैसला आइसके पनि अपिल तथा पुनरावेदनको प्रक्रिया बाँकी रहेकाले अन्तिम न्यायिक टुंगो लाग्न अझै समय लाग्ने देखिन्छ।

ads
ads
add
banner add

सम्बन्धित खबर