आज "विश्व ताल दिवस" मनाइँदैछ। ताल केवल प्राकृतिक जलस्रोत मात्र होइन, सम्पूर्ण पारिस्थितिक तन्त्रको आधारशिला हो। यसले पानीको भण्डारण, भूमिगत जल पुनर्भरण, जैविक विविधता संरक्षण, जलवायु सन्तुलन तथा मानवीय जीवनका लागि आधारभूत योगदान पुर्याउँछ। तर विडम्बना के छ भने हाम्रो समाजमा तालहरूको महत्त्वबारे गहिरो चेतना अझै पर्याप्त छैन।पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो ।
राष्ट्रसङ्घीय प्रणालीमा आबद्ध संस्था, अन्य अन्तरराष्ट्रिय क्षेत्रीय र उपक्षेत्रीय संस्था, नागरिक समाज, निजी क्षेत्र, वातावरण एवं शैक्षिक अभियन्तालाई तालको महत्वबारेमा शिक्षा प्रदान गर्दै तिनको संरक्षण गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार पृथ्वीमा ११ करोड ७० लाखभन्दा बढी ताल छन् । तिनले विश्वको जमिनको चार प्रतिशत भाग ओगटेका छन् । प्रदूषण र ‘मिथेन’ उत्सर्जनका कारण वातावरणीय नोक्सानिका साथै ताजा पानीका स्रोतहरू घट्दै गएको सन्दर्भमा यो दिवस मनाउनुको सान्दर्भिकता बढेको छ ।
नेपालजस्ता प्राकृतिक धनी मुलुकमा तालहरूले पर्यटन, कृषि, माछापालन, धार्मिक–सांस्कृतिक परम्परासँगै जनजीवनमा ठूलो प्रभाव पारेका छन्। फेवाताल, राराताल, बेग्नास तालदेखि काठमाडौँ उपत्यकाका साना तालसम्म । यी सबै केवल सौन्दर्यका धरोहर होइनन्, जीवनका आधार हुन्। तर तीमध्ये धेरै प्रदूषण, अतिक्रमण, अव्यवस्थित शहरीकरण र बेवास्ताका कारण संकटमा परेका छन्।
विश्व ताल दिवसको सन्देश यही हो । ताल संरक्षण केवल सरकारी निकाय वा वातावरणविद्को जिम्मेवारी मात्र होइन, प्रत्येक नागरिकको कर्तव्य हो। सरसफाइमा ध्यान दिनु, ताल वरपरको वातावरणलाई संरक्षण गर्नु, अतिक्रमण रोक्नु र जनचेतना अभिवृद्धि गर्नु आजको अपरिहार्यता हो।
यदि हामीले ताल जोगाउन सक्दैनौँ भने केवल प्राकृतिक सुन्दरता मात्र हराउने छैन, भविष्यको पानी संकट र वातावरणीय असन्तुलन अझ गहिरिनेछ। त्यसैले आजको दिनले हामी सबैलाई स्मरण गराउनुपर्छ । ताल हाम्रो सम्पत्ति हो, संरक्षण हाम्रो कर्तव्य हो।