काठमाडौँ । गत भाद्र २३ र २४ गते GenZ का नाममा गरिएको आन्दोलनले देशभर खरबौं रुपैयाँ बराबरको राष्ट्रिय सम्पत्ति नष्ट गरेको छ। यसरी आक्रमणको निशानामा राजनीतिक दलका नेताहरू सँग सँगै दुर्भाग्यवस; व्यापारीक कम्प्लेक्स , सरकारी अड्डाहरू, पुलिस चौकी, स्कुलहरू आदि पनि परे । यसरी निशानामा परेका संघ संस्थाहरु मध्यको एक हो युलेन्स स्कुल ।
समाजका सबै वर्गले समान र विश्वस्तरको शिक्षा प्राप्त गर्न पाउनु पर्छ, शैक्षिक संस्था नाफा मुखी हुनु भन्दा सेवा मुखी हुनुपर्छ र हुने खानेबाट शुल्क लिएर हुँदा खानेलाई उही स्तरको शिक्षा दिनु पर्छ भन्ने पवित्र उद्देश्यले खोलिएको स्कुललाई खरानी तुल्य बनाउनु अमानवीय कार्य हो।
युलेन्स एजुकेसन फाउन्डेसन (UEF)का अध्यक्ष सोम पनेरुले विदेशी दाताहरूको सहयोगमा प्राप्त रकमबाट कुशल शैक्षिक नेतृत्व सहितको टिम तयार गरी साढे दुई दशक अगाडि ७० जना भन्दा कम विद्यार्थीबाट सुरुवात गरेको यस स्कुल खरानी बनाइँदा सवा १ अरब बराबरको सम्पत्ति नष्ट, १५०० भन्दा बढी विद्यार्थीको पढाइ र ५०० भन्दा बढी शिक्षक तथा कर्मचारीहरूको रोजगारी अन्योलमा परेको छ ।
यो दुष्प्रयास विद्यालय सञ्चालक समितिकी अध्यक्ष आर्जु राणा भएका नाममा गरिएको हो जहाँ उनको न त एक रुपैया लगानी छ, न त अस्ति बनाइएको खरानीबाट उनलाई व्यक्तिगत रुपमा १ रुपैयाँ नै नोक्सानी हुन्छ। एक ढंगले विश्लेषण गर्ने हो भने युलेन्स स्कुल माथिको भौतिक आक्रमणका कारणहरू निम्न हुन सक्छन्।
भ्रम : यसको सुरुवात कसरी र कुन उद्देश्यका साथ भएको हो? यसका लगानीकर्ता को हुन्? घोषित उद्देश्यअनुसार नै स्कुल सञ्चालन भइराखेको छ या छैन? भन्ने नबुझ्नु अज्ञानता हो। यसैगरी सञ्चालक समितिको अध्यक्ष रहेकी आर्जु राणाको भ्रष्टाचारको सम्पत्तिले खोलेको स्कुलका रूपमा छरिएको भ्रम यस आक्रमणको अर्को मुख्य कारण हो। एक त यो आर्जु राणाको सम्पत्तिले खोलिएको स्कुल होइन र अर्को आर्जु राणा भ्रष्टाचारी नै हुन् भने पनि सम्बन्धित निकायले प्रमाणित गरी कारबाही गर्ने कुरा हो, सडकले होइन ।
प्रतिशोध: यस आक्रमणमा दुईथरिका प्रतिशोध देखिन्छ।राजनैतिक प्रतिशोध र व्यावसायिक प्रतिशोध । राजनैतिक रूपले आर्जु राणाका कारण छायाँमा परेका वा पारिएकाहरूको प्रतिशोध , यो आक्रमणको एक कारण हुन सक्छ ,यदि त्यसो हो भने पनि स्कुल निशानामा हुनु हुँदैन थियो। दोस्रो युलेन्सले कसैलाई प्रतिस्पर्धी ठान्दैन , यसले आफ्नै केही वर्षअघि र पछिका अवस्थालाई तुलना गरेर पाठ सिक्छ र योजना बनाउँछ तर यही हाराहारी शुल्क भएका अन्य विद्यालयले विद्यार्थी नपाइ रहँदा युलेन्समा भर्नाको लागि ठाउँ समेत नपाउने स्थिति हुँदा प्रतिशोध राखिएको हुन सक्छ , यसको प्रष्ट आधार भने देखिँदैन।
डाह : युलेन्सको Kindergarten देखि कलेज सम्मको प्रगति बडो डाहालाग्दो तरिकाबाट भएको देखिन्छ । यहाँको नेतृत्वको दुरदृष्टि र शिक्षक तथा कर्मचारीको लगन खासै बाहिरबाट देखिँदैन । यहाँका शिक्षक तथा कर्मचारीहरू अन्यत्र काम गरे पनि यतिको जीवन स्तर बनाउन सक्षम छन् तर बाहिरबाट हेर्दा उनीहरुको जीवन स्तर पनि डाहा लाग्दोनै देखिन्छ ।
चौथो र अन्तिम कारण भनेको युलेन्स स्कुलको शुल्क हो। यस स्कुलले लिएको शुल्कबाट विद्यार्थीहरूलाई के कति सुविधा दिएको छ ( स्तरीय सवारी साधन, सुविधा सम्पन्न कक्षा कोठा , दैनिक दुई तीन पटकको स्तरीय खाना तथा खाजा, शिक्षणमा विभिन्न प्रविधिका साधन(ICT)को प्रयोग….) ख्याल नगरी महँगो देख्नु अज्ञानता हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कति गरिब, अनाथ र असहाय बाल बच्चालाई निःशुल्क पढाइराखेको छ? दुर्गमका सरकारी विद्यालय र विद्यार्थीलाई कसरी आर्थिक एवं भौतिक सहयोग गरि राखेको छ। यसले कमाएको मुनाफा के गर्छ? भोलि विद्यालय बन्द गर्नु पर्ने अवस्था आउँदा यो सम्पूर्ण सम्पत्ति कसको हुन्छ? आदि जस्ता प्रश्नको जवाफ स्पष्ट रूपले प्रवाह नभएका कारणले पनि युलेन्स स्कुल आक्रमणको केन्द्र बनेको हुन सक्छ।
स्थानीय बासिन्दालाई पनि स्कुलको वास्तविकता बारे स्पष्ट रूपले बुझाउन नसके को जस्तो देखियो। स्थानीय बासिन्दाले पनि ललितपुरका १०० भन्दा बढी शिक्षक देखि ड्राइभर, भ्यान असिस्टेन्ट देखि किचेन स्टाफ सम्म काम गर्ने कर्मचारीले रोजगारी पाएका छन् भन्ने बुझ्नु पर्ने हो। सामान्य स्कुलमा पनि गेट पालेको अनुमति बिना विद्यालय भित्र छिर्न पाइँदैन भने यो स्तरको विद्यालयमा सजिलै भित्र छिर्न नपाउने विषय सामान्य हुनुपर्ने हो । नजिकका समुदायका व्यक्तिले आफ्ना योग्यता पुगेका बखत रोजगारीको अवसर प्राप्त हुन सक्छ भन्ने ठानेर स्कुल जोगाउन खोज्नुपर्ने हो तर त्यस्तो चाहिँ देखिएन ।
जे जति घटनाहरु घटे ती असामान्य र अति पीडादायक घटनाहरू घटे। यसका बावजुद पनि दशैंको बिदा लगत्तै oct 7 बाट, भाडामा लिएको भवनमा, बोर्ड परीक्षा हुने कक्षाहरू; कक्षा १०, प्लस टु, तथा IBDP का कक्षाहरु भौतिक रुपमा सञ्चालन हुँदैछन्। हामी सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू पीडामा छौँ तर स्कुलमा हाजिर हुन आतुर छौ । विद्यालयले यस्तो अवस्थामा पनि देखाएको आँट र साहसको सम्मान गर्दै हामी हाम्रो तर्फबाट पूर्ण ऊर्जाका साथ काम गरी स्कुललाई पहिलेकै अवस्थामा फर्कन सहयोग गर्नु हाम्रो दायित्व हो ।
युलेन्सले, स्कुल खोल्नु पछिका उद्देश्यहरू, यतिको महँगो हुनुको कारण, यसले समाज र राष्ट्रका लागि गरेको योगदान ,र सम्भव छ भने नजिकको समुदायलाई विश्वासमा लिन गर्न सकिने केही सामाजिक कार्यको बारेमा अझ प्रष्ट रूपले सार्वजनिक रूपमा बाहिर ल्याउनु सान्दर्भिक देखिन्छ ।
- रमेश रेग्मी