शुक्र, ०४ मंसिर २०८३ / November 20, 2026, Friday
शुक्र, ०४ मंसिर २०८३
Advertisement
banner add

प्रहरीका ५४ हजार कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्क स्थापना

banner add
writter
शुक्र, ०४ मंसिर २०८३
(Shares)

काठमाडौं । नेपाल प्रहरीका आधारभूत तहका कर्मचारीहरूको गुनासो तथा पीरमर्का प्रत्यक्ष रूपमा सुन्न र सम्बोधन गर्न केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना गरिएको छ।

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच उक्त डेस्कको उद्घाटन गर्नुभएको हो।

उद्घाटनका क्रममा प्रहरी महानिरीक्षक केसीले नेपाल प्रहरीको सीयूजी सेवामा आबद्ध प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना प्रहरी कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि गुगल फारमको लिंक पठाउनुभयो। साथै, एक जना प्रहरी कर्मचारीको टेलिफोनमार्फत प्रत्यक्ष गुनासो सुनेर डेस्कको औपचारिक शुभारम्भ गर्नुभयो।

प्रहरी संगठनको ८२ प्रतिशतभन्दा बढी जनशक्ति आधारभूत तहका कर्मचारी रहेको तथ्यलाई मध्यनजर गर्दै प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी डेस्क स्थापना गरिएको हो।

प्रहरी महानिरीक्षक केसीले आधारभूत तहका कर्मचारीका गुनासा विभिन्न प्रशासनिक तह पार गर्दै नेतृत्वसम्म पुग्न कठिन हुने अवस्थालाई अन्त्य गर्न डेस्क स्थापना गरिएको बताउनुभयो। उहाँले कर्मचारीका समस्या तथा पीरमर्कालाई छिटो, सहज र प्रभावकारी रूपमा सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आधारभूत तहका प्रहरी कर्मचारी संगठनको जग र आधारभूत स्तम्भ भएको उल्लेख गर्दै उहाँले सडकदेखि सीमासम्म, प्रहरी कार्यालयदेखि विपद् घटनास्थलसम्म नागरिकले प्रत्यक्ष देख्ने र अनुभूति गर्ने प्रहरीको वास्तविक अनुहार नै आधारभूत तहका कर्मचारी भएको बताउनुभयो।

आधारभूत तहका कर्मचारी सन्तुष्ट नभएसम्म नागरिकले गुणस्तरीय र प्रभावकारी प्रहरी सेवा प्राप्त गर्न कठिन हुने उहाँको भनाइ थियो।

कर्मचारीका गुनासाको प्रभावकारी सम्बोधन समग्र संगठनको कार्यसम्पादनसँग जोडिएको उल्लेख गर्दै उहाँले डेस्कलाई नेतृत्व र आधारभूत तहबीच विश्वासको सेतुका रूपमा विकास गर्नुपर्ने बताउनुभयो।

उहाँले गुनासोकर्ताको गोपनीयतालाई विशेष प्राथमिकता दिँदै प्रत्येक गुनासोलाई गम्भीरतापूर्वक र निष्पक्ष रूपमा सम्बोधन गर्न डेस्कमा खटिएका प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिनुभयो।

केन्द्रीय गुनासो व्यवस्थापन डेस्कका संयोजक प्रहरी उपरीक्षक गोविन्द पुरीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

डेस्क स्थापनाको मुख्य उद्देश्य आधारभूत तहका प्रहरी कर्मचारीलाई आफ्ना जायज गुनासा स्वस्फूर्त रूपमा राख्न सक्ने वातावरण निर्माण गर्नु, सहज पहुँचसहितको गोप्य र निष्पक्ष गुनासो प्रणाली विकास गर्नु तथा प्राप्त गुनासाको प्रमाणमा आधारित शीघ्र सम्बोधन गर्नु रहेको नेपाल प्रहरीले जनाएको छ।

त्यसैगरी, गुनासो सम्बोधन गर्ने जिम्मेवार संयन्त्रको प्रभावकारिता बढाउने, सुपरिवेक्षक तथा जिम्मेवार अधिकारीको जवाफदेहिता अभिवृद्धि गर्ने र संगठनभित्र दोहोरिने समस्या तथा प्रणालीगत कमजोरी पहिचान गरी नीतिगत, प्रशासनिक र कल्याणकारी सुधारका उपाय अवलम्बन गर्ने लक्ष्यसमेत राखिएको छ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। सातवटै प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, प्रहरी शिक्षालय, तालिम केन्द्र, जिल्ला प्रहरी परिसर तथा कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलगायत विभिन्न प्रहरी इकाइका प्रमुख तथा प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।

नयाँ व्यवस्थाले प्रहरी संगठनको तल्लो तहमा कार्यरत कर्मचारीका समस्या, विभेद र पीरमर्का प्रत्यक्ष रूपमा नेतृत्वसमक्ष पुर्‍याउने तथा संगठनभित्र आन्तरिक जवाफदेहिता र कर्मचारी कल्याणसम्बन्धी सुधारलाई संस्थागत गर्ने अपेक्षा गरिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर