हात्तीको संरक्षण केवल एउटा प्रजाति बचाउने कुरा होइन, यो सम्पूर्ण पारिस्थितिक सन्तुलन जोगाउने अभियान हो।
हात्तीको इतिहास धेरै पुरानो र रोचक छ । हात्तीहरू लाखौँ वर्षअघि पृथ्वीमा देखापरेका जनावरहरू हुन् । यसको पूर्वजहरू मास्टोडन र मेमथ थिए, जुन हिमयुगमा बस्थे । समयक्रममा वातावरणीय परिवर्तन र मानिसको सिकारका कारण ती प्रजातिहरू लोप भए । आज हामीले देख्ने हात्तीका दुई मुख्य प्रजाति छन् ।
• अफ्रिकी हात्ती (African Elephant)
• एशियाली हात्ती (Asian Elephant)
हात्तीको उत्पत्ति लगभग ५५ देखि ६० लाख वर्षअघि Moeritherium नामको पुरानो स्तनधारी जनावरबाट भएको मानिन्छ । जुन आजको हात्ती भन्दा निकै सानो थियो र पानी नजिक बस्थ्यो। त्यसपछि लाखौँ वर्षको विकासक्रममा विभिन्न रूपहरू (जस्तै Deinotherium, Mastodon, Mammoth) हुँदै आधुनिक हात्ती जन्मिएको वैज्ञानिकहरु बताउछन् ।
प्राचीन सिन्धु सभ्यतामा उपत्यका सभ्यता (३३००–१३०० ई.पू.) मा हात्तीलाई कृषि र भारी सामान बोक्न प्रयोग गरिएको प्रमाण भेटिन्छ।भारत र दक्षिणपूर्वी एसियामा हात्तीलाई पालेर युद्ध, शिकारी तथा धार्मिक कार्यका लागि प्रयोग गरिन्थ्यो।
प्राचीन मिस्र र अफ्रिकी सभ्यता मा हात्ती मुख्यतः शक्ति र धनीपनको प्रतीक मानिन्थ्यो, तर अफ्रिकी हात्तीलाई युद्धमा नियन्त्रण गर्न कठिन भएकाले कम प्रयोग हुन्थ्यो। प्राचीन भारतीय महाकाव्य महाभारत र रामायण मा हात्ती सेनाको वर्णन पाइन्छ।
अलेक्जान्डर महान (३५६–३२३ ई.पू.) भारत आएका बेला उनले राजा पुरुरवासँगको युद्धमा युद्ध हात्तीको सामना गरेका थिए।कार्थेजका सेनापति हानिबल (२१८ ई.पू.) ले हात्ती लिएर आल्प्स पर्वत पार गरेर रोमन साम्राज्यमा आक्रमण गरेका थिए।
हिन्दू धर्मका अनुसार सांस्कृतिक प्रतीकको रुपमा हात्तीमुखी देवता गणेश विघ्नहर्ता मानिन्छन्। हिन्दू धर्ममा हात्तीमुखी देवता गणेश सबैभन्दा लोकप्रिय छन् ।
बौद्ध कथामा सेतो हात्ती बुद्ध जन्म हुनु अघि आमा मायादेवीको स्वप्नमा देखिन्छ। बौद्ध परम्परामा पनि हात्तीलाई ज्ञान, शक्ति र धैर्यको प्रतीक मानिन्छ।
हजारौँ वर्ष अघिदेखि हात्ती मानव सभ्यतासँग नजिकका रूपमा प्रयोग हुँदै आएका छन् । भारत, चीन, थाइल्यान्ड, र नेपालजस्ता देशमा हात्तीलाई यातायात, युद्ध, र दरबारको शोभाका लागि प्रयोग गरिन्थ्यो ।प्राचीन युद्धहरूमा हात्तीलाई “युद्ध हात्ती” का रूपमा प्रयोग हुन्थ्यो, जसले ठूलो सेनामा आतंक मच्चाउँथ्यो ।
आधुनिक इतिहासमा १९औँ र २०औँ शताब्दीमा अफ्रिका र एसियामा हात्तीको दाँत (हात्ती दाँतको हड्डी) व्यापारका कारण ठूलो संख्यामा मारिएका थिए । आज धेरै देशमा हात्तीलाई “संरक्षित प्रजाति” घोषणा गरिएको छ । राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रहरूमा हात्ती संरक्षणका लागि कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
विश्वव्यापी जलवायु परिवर्तन आज केवल हिमनदी पग्लिने वा समुद्री सतह बढ्ने विषय मात्र होइन । जीवजन्तुहरूको अस्तित्वमा प्रत्यक्ष खतराको कारण बनिरहेको छ। यसको मारमा परेका प्रजातिहरूमध्ये हात्ती पनि अग्रस्थानमा छन्। हात्तीलाई शक्ति, धैर्य र बुद्धिमत्ताको प्रतीक मान्ने हाम्रो संस्कृति र इतिहासले यस जनावरलाई विशेष स्थान दिएको छ। तर, ती गौरवशाली प्राणी अहिले बाँच्नकै लागि संघर्षरत छन्।
अध्ययनहरूले देखाएका छन् कि जलवायु परिवर्तनका कारण हात्तीको प्राकृतिक बासस्थान तीव्र गतिमा हराउँदैछ। तापक्रम वृद्धि, अनियमित वर्षा र लामो खडेरीका कारण घाँसे मैदान र हरियाली वनजंगल सुक्दै छन्। यो प्रक्रिया केवल खाना र पानीको अभावसम्म सीमित छैन। यसले हात्तीलाई मानव बस्ती नजिक धकेल्दै लगिरहेको छ, जसले मानव–हात्ती द्वन्द्वलाई चर्काएको छ। बस्तीमा पसेका हात्ती कहिलेकाहीँ खेतबारी नष्ट गर्छन्, जसको प्रतिकार स्वरूप मानिसहरूले हात्तीलाई मार्ने वा भगाउने जस्ता कठोर उपाय अपनाउँछन्।
इतिहासले प्रमाणित गर्छ, हिमयुग अन्त्यसँगै म्यामथजस्ता हात्तीका पुर्खा प्रजाति लोप भए। आजको समयमा त्यही इतिहास फेरि दोहोरिन नदिनका लागि हाम्रो प्रयास आवश्यक छ। संरक्षणका नाममा मात्र कानुनी प्रावधान बनाउनु पर्याप्त छैन, तिनीहरूको व्यवहारिक कार्यान्वयन अनिवार्य छ। हात्तीलाई पर्याप्त बासस्थान, पानीको स्रोत र खाद्य आपूर्ति सुनिश्चित गर्ने दीर्घकालीन योजना आवश्यक छ। साथै, जलवायु परिवर्तनका मूल कारण—ग्रीनहाउस ग्यास उत्सर्जन र वन विनाश—कम गर्ने कार्य विश्वव्यापी रूपमा तिव्र गतिमा अघि बढाउनुपर्छ।
नेपालमा हरेक वर्ष जंगली भाले हात्तीहरू मारिँदै जान थालेकोप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । भाले हात्तीहरु मर्ने क्रम नरोकिए प्रजननमा समस्या आउने उनीहरुको चिन्ता छ । ‘एलिफेन्ट इकोलोजीमा पीएचडी गरेका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार राम भाले हात्तीहरु मारिदै जाँदा आउने दिनमा प्रजननमा संकट देखिन सक्ने बताउँछन् ।
२०६७ देखि २०७४ सम्म झापा, पर्सा र चितवन करिडोरमा १७ वटा जंगली हात्तीहरु आएकोमा १६ वटा हात्तीहरु मारिएका छन् ।
२०७७ देखि २०८० सम्म हेर्दा यो रुटबाट ५ वटा भाले हात्ती सौराहातिर आएको उनको भनाइ छ । दुईवटा हात्ती फर्किएर बाहुनडाँगी कटेको देखिएको डा.रामले बताए । सो समूहमा रहेको मकुना नामको हात्तीलाई निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले २०८१ माघ २३ गते गोली हानेर मारेको थियो ।
मकुनालाई सौराहा क्षेत्रबाट निकुञ्जको कोर क्षेत्रमा लैजाने क्रममा सुरक्षाकर्मी तथा निकुञ्जका कर्मचारी माथि आक्रमण गरेपछि ज्यान जोगाउन गोली हानेर मारिएको निकुञ्जका अधिकारीहरुले बताउँदै आएका छन् ।
लगभग १०,००० वर्षअघि हिमयुग अन्त्य हुँदै तापक्रम बढ्यो।ऊनयुक्त म्यामथ (Woolly Mammoth) जस्ता चिसो मौसममा बाँच्ने हात्ती प्रजातिहरूको बासस्थान नष्ट गर्यो।बर्फ पग्लिएपछि घाँसे मैदान (grassland) हराउँदै गयो र वन तथा दलदल बढे, जसमा म्यामथ जस्ता प्रजातिहरू अनुकूलन गर्न सकेनन्।
जलवायु परिवर्तनका कारण सुख्खा बढ्दा पानीका स्रोत सुक्छन्।अफ्रिका र एसियामा गर्मी बढ्दा हात्तीको मुख्य खाना (घाँस, पात, बोक्रा) कम हुँदै जान्छ। खाना र पानी खोज्न लामो दूरी हिँड्नुपर्ने हुँदा धेरै हात्ती मृत्यु हुन्छन्, विशेष गरी बच्चा र बूढा हात्ती।
तापक्रम र वर्षा प्रणालीमा परिवर्तनले जंगलहरू सुकाएर झाडी र बंजर जमिनमा बदलिदिन्छ। हात्तीलाई आवश्यक ठूलो क्षेत्रफलको बासस्थान सिमित हुन्छ, जसले उनीहरूको संख्या घटाउँछ।
वातावरणीय परिवर्तनका कारण हात्ती बस्ती नजिक खाना खोज्न आउँछन्।यसले मानवसँगको टकराव बढाउँछ—हात्ती मारिने, तस्करी हुने वा विस्थापित हुने अवस्था बन्छ।
IUCN ले अफ्रिकी र एशियाली हात्ती दुवैलाई “Endangered” सूचीमा राखेको छ।वैज्ञानिकहरूले चेतावनी दिएका छन् कि यदि तापक्रम वृद्धि र वर्षा प्रणालीको असन्तुलन रोकिएन भने आगामी सय वर्षमा हात्तीको संख्या झन् कम हुनेछ।
हात्तीको संरक्षण केवल एउटा प्रजाति बचाउने कुरा होइन, यो सम्पूर्ण पारिस्थितिक सन्तुलन जोगाउने अभियान हो। यदि हामीले आज पहल गरिएन भने, भविष्यको पुस्ताले हात्तीलाई केवल किताबको पानामा वा संग्रहालयको प्रदर्शनीमा मात्र देख्नेछन्। जलवायु परिवर्तनविरुद्धको संघर्ष अब विलम्ब गर्न मिल्ने विषय रहँदैन । यो तत्कालको प्राथमिकता हो।