निगरानी ब्यूरो । सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व सम्हालेको छोटो अवधिमै डीआईजी सानुराम भट्टराईले देखाएको सक्रियताले प्रदेशको शान्ति सुरक्षा र प्रहरी प्रशासनप्रति नयाँ अपेक्षा जगाएको छ। लागूऔषध नियन्त्रण, अपराध अनुसन्धान, तस्करी रोकथाम, ट्राफिक व्यवस्थापन तथा प्रहरी संगठनभित्र सुशासन स्थापना गर्ने अभियानलाई एकसाथ अघि बढाउनु नेतृत्वको स्पष्ट प्राथमिकता देखिन्छ।
एक महिनाभित्र भएका कारबाही, बरामद सामग्री, फरार अभियुक्त पक्राउ तथा संगठनभित्र गरिएको सुधारले प्रहरी प्रशासन परिणाममुखी बन्न खोजिरहेको संकेत दिएको छ।
लागूऔषध कारोबार, तस्करी, वन्यजन्तु तथा प्राकृतिक स्रोतको अवैध दोहन, फरार अपराधी पक्राउ र ट्राफिक अनुशासनमा गरिएको कडाइले कानुन कार्यान्वयनमा प्रहरीको उपस्थिति बलियो भएको देखिन्छ। विशेषगरी प्रभावशाली व्यक्ति होस् वा सर्वसाधारण, कानुन सबैका लागि समान हो भन्ने सन्देश दिन मुख्यमन्त्रीमाथि समेत ट्राफिक कारबाही प्रक्रिया अघि बढाइनु सकारात्मक उदाहरणका रूपमा हेरिएको छ। यसले कानुनी शासनप्रति नागरिकको विश्वास बढाउन सहयोग पुर्याउन सक्छ।
यद्यपि, प्रहरीका उपलब्धि केवल पक्राउ संख्या, मुद्दा दर्ता वा राजस्व संकलनले मात्र मापन गर्न सकिँदैन। अपराध घटेको दर, लागूऔषधको आपूर्ति सञ्जाल कति कमजोर बन्यो, पीडितले न्याय पाउने प्रक्रिया कति प्रभावकारी बन्यो र नागरिकले प्रहरीप्रति कति विश्वास गर्न थाले भन्ने विषय नै वास्तविक सफलताका मापदण्ड हुन्।
लागूऔषध प्रयोगकर्तालाई पक्राउ गर्नु मात्र होइन, उनीहरूको पुनःस्थापना र उपचारमा सम्बन्धित निकायसँग समन्वय गर्नु पनि उत्तिकै आवश्यक छ। संगठनभित्र सुशासन कायम गर्ने प्रयास अझ महत्वपूर्ण पक्ष हो।
काज सरुवामा हुने भनसुन र आर्थिक चलखेल रोक्ने निर्णय, आन्तरिक अनुशासनमा कडाइ तथा गुनासो सुन्ने संयन्त्र स्थापना जस्ता कदमले प्रहरी संगठनलाई थप पारदर्शी र जवाफदेही बनाउन मद्दत पुर्याउन सक्छ। तर यी सुधारहरू व्यक्ति केन्द्रित नभई संस्थागत रूपमा स्थापित हुन सके मात्र दीर्घकालीन प्रभाव देखिनेछ।
सुदूरपश्चिम लागूऔषध ओसारपसार, सीमापार तस्करी तथा संगठित अपराधका दृष्टिले संवेदनशील प्रदेश हो। यस्तो अवस्थामा प्रहरीको सक्रियता आवश्यक मात्र होइन, अपरिहार्य पनि हो। तर अपराध नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै स्थानीय सरकार, समुदाय, विद्यालय, अभिभावक तथा सरोकारवाला निकायको सहकार्य पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। सुरक्षा केवल प्रहरीको जिम्मेवारी होइन, समाजको साझा दायित्व पनि हो।
डीआईजी भट्टराईको नेतृत्वमा सुरु भएको अभियानले सकारात्मक संकेत दिएको छ। अब चुनौती भनेको यही सक्रियतालाई निरन्तरता दिँदै परिणामलाई दिगो बनाउनु हो।यदि सुशासन, निष्पक्ष कानुन कार्यान्वयन, नागरिकमैत्री सेवा र अपराध नियन्त्रणलाई यही गतिमा अघि बढाउन सकियो भने सुदूरपश्चिम प्रदेशमा सुरक्षित समाज निर्माणतर्फ महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ।
- लागूऔषधदेखि फरार अभियुक्त पक्राउसम्म सुदूरपश्चिम प्रहरीको सक्रियता
सुदूरपश्चिम प्रदेश प्रहरीले पछिल्लो एक महिनामा लागूऔषध नियन्त्रण, तस्करी रोकथाम, फरार अभियुक्त पक्राउ तथा संगठित अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।
प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै कैलालीमा विशेष 'स्विप अपरेशन' सञ्चालन गरिएको थियो। यससँगै एक करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध तस्करीका सामान बरामद गरिएको छ भने वन पैदावार, वन्यजन्तु तथा प्राकृतिक स्रोतको अवैध कारोबार नियन्त्रणमा पनि सफलता प्राप्त भएको प्रहरीले जनाएको छ।
यस अवधिमा विभिन्न अदालतबाट सजाय तोकिएर फरार रहेका ११३ जना अभियुक्तलाई पक्राउ गरी फैसला कार्यान्वयन गरिएको छ। साथै भारतीय नम्बर प्लेटको कार दुर्घटनापछि फरार रहेका चालक, धनगढीको कालिका सामुदायिक वनमा १० वर्षीय तनुज चौधरी हत्या प्रकरणका अभियुक्त, श्रीमतीमाथि तातो तेल खन्याएर फरार रहेका अभियुक्त तथा चोरी भएको सुदूरपश्चिम विश्वविद्यालयको सरकारी स्कारपियो गाडी प्रकरणमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
- सुदूरपश्चिममा ट्राफिक प्रहरीको कडाइ : ४ हजारभन्दा बढी सवारीमाथि कारबाही
सुदूरपश्चिम प्रदेश प्रहरीले ट्राफिक नियम कार्यान्वयनलाई थप कडाइ गर्दै पछिल्लो एक महिनामा चार हजारभन्दा बढी सवारीसाधनमाथि कारबाही गरेको छ। यसबाट करिब ३५ लाख रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउने करिब ५०० चालक पनि कारबाहीमा परेका छन्।
प्रहरीले रात्रिकालीन समयमा रुट परमिटबिना सञ्चालन हुने विद्युतीय माइक्रोबसमा रोक लगाउनुका साथै लामो दूरीका सवारी चालकको नियमित ब्रेथलाइजर परीक्षण सुरु गरेको छ। यस अवधिमा २०० सार्वजनिक सवारीमा सीसीटीभी जडान, १५९ सवारीको यान्त्रिक परीक्षण, ४२० सवारीको नम्बर प्लेट सुधार तथा ३५० सवारीबाट कालो सिसा हटाइएको छ।
कानुन सबैका लागि समान रूपमा लागू हुने सन्देश दिँदै डीआईजी सानुराम भट्टराईको निर्देशनमा हेल्मेट नलगाई मोटरसाइकल चलाएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि पनि ५०० रुपैयाँ जरिवानासहित ट्राफिक कारबाही प्रक्रिया अघि बढाइएको घटना चर्चामा रहेको प्रहरीले जनाएको छ।
-डीआईजी भट्टराईको प्राथमिकता : प्रहरी सुधार र सीमामा कडा निगरानी
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी भट्टराईले पदभार सम्हालेपछि प्रहरी संगठनभित्र सुशासन र कार्यसम्पादन सुधारका कार्यक्रमलाई प्राथमिकता दिएका छन्। गुनासो सुन्ने संयन्त्र स्थापना, भनसुनका आधारमा हुने काज सरुवा नियन्त्रण, नियमित कार्यसम्पादन अनुगमन तथा आन्तरिक अनुशासनमा कडाइ गरिएको प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा लागूऔषध तथा तस्करी नियन्त्रणका लागि विशेष टोली परिचालन, संवेदनशील नाकामा डग स्निफिङ सञ्चालन, राति आकस्मिक अनुगमन, प्रहरी कन्ट्रोल र सीमा ड्युटीको छड्के निरीक्षण तथा मातहत कार्यालयसँग दैनिक समीक्षा बैठकलाई नियमित बनाइएको छ।
लामो समय एउटै स्थानमा कार्यरत प्रहरी कर्मचारीको सरुवा गरी अनुसन्धानलाई थप प्रभावकारी बनाइ तस्करी तथा अपराध नियन्त्रणमा सकारात्मक नतिजा देखिन थालेको छ। प्रहरी अधिकारीहरूका अनुसार डीआईजी भट्टराई दैनिक रूपमा कार्यसम्पादन समीक्षा गर्नुका साथै राजमार्ग, सीमा क्षेत्र र प्रहरी युनिटहरूको नियमित निरीक्षणमा सक्रिय रहने गरेका छन्।
छोटो अवधिमै लागूऔषध नियन्त्रण, तस्करी रोकथाम, अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन तथा संगठनभित्र सुधारका क्षेत्रमा सकारात्मक परिणाम देखिए पनि सीमापार अपराध, संगठित तस्करी र लागूऔषध नियन्त्रणका चुनौतीलाई थप प्रभावकारी रूपमा सामना गर्न राज्यका सबै निकायबीच समन्वय आवश्यक रहेको प्रहरीको निष्कर्ष छ।