शुक्र, ०१ साउन २०८३ / July 17, 2026, Friday
शुक्र, ०१ साउन २०८३
Advertisement
banner add

खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, ९ बुँदे सार्वजनिक प्रतिबद्धता घोषणा

banner add
writter
शुक्र, ०१ साउन २०८३
(Shares)

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै नागरिकका गुनासा सम्बोधनका लागि ९ बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरेको छ।

गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा असार ३१ गते सम्पन्न सार्वजनिक सुनुवाइमा सहभागी नागरिकहरूले शिक्षा, खानेपानी, सडक, वातावरण, ट्राफिक व्यवस्थापन, सीपमूलक तालिम, फोहोर व्यवस्थापन, लागूऔषध नियन्त्रणलगायत विषयमा गुनासा र सुझाव राखेका थिए। लामो प्रश्नोत्तरपछि गाउँपालिकाले साझा प्रतिबद्धता सार्वजनिक गरेको हो।

सहभागीहरूले सार्वजनिक सरोकारका कार्यक्रममा अधिकांश जनप्रतिनिधि अनुपस्थित रहने, विद्यालयमा सुरक्षित खानेपानी, फर्निचर र अतिरिक्त क्रियाकलापका लागि आवश्यक स्रोतको अभाव, वडा नं. २ स्थित बावाधाममा शौचालय नहुँदा समस्या, सीपमूलक तालिम प्रभावकारी नबनेको, सार्वजनिक सडक अतिक्रमण, शैक्षिक गुणस्तरमा सुधार नआएको, प्लास्टिकजन्य फोहोर तथा वातावरणीय प्रदूषण बढेको र फोहोर व्यवस्थापन प्रभावकारी हुन नसकेको विषय उठाएका थिए।

त्यसैगरी केही विद्यालयले कानुनविपरीत शुल्क असुलिरहेको, जनता माध्यमिक विद्यालय नजिक अव्यवस्थित विद्युत् पोल र तारका कारण दुर्घटनाको जोखिम रहेको, ट्राफिक व्यवस्थापन कमजोर भएको तथा युवामा लागूऔषध दुर्व्यसन बढ्दै गएको भन्दै तत्काल सुधारका लागि पहल गर्न माग गरिएको थियो।

सहभागीहरूको जिज्ञासाको गाउँपालिका अध्यक्ष डम्बर विक, उपाध्यक्ष मञ्जु मल्ल, वडा अध्यक्षहरू तथा सम्बन्धित शाखा प्रमुखहरूले जवाफ दिएका थिए।

घोषित प्रतिबद्धताअनुसार सार्वजनिक सरोकारका कार्यक्रममा जनप्रतिनिधिको अनिवार्य सहभागिता सुनिश्चित गर्ने, विद्यालयमा खानेपानी, फर्निचर र अतिरिक्त क्रियाकलापमा सहयोग गर्ने, बावाधाममा शौचालय निर्माणमा सहयोग गर्ने, सीपमूलक तालिमलाई रोजगारीसँग जोड्ने, सार्वजनिक सडकको अतिक्रमण हटाउने, शिक्षाको गुणस्तर सुधार गर्ने, जलवायु परिवर्तन न्यूनीकरण तथा प्लास्टिक प्रयोग नियन्त्रणका लागि नीति लागू गर्ने, फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने, कानुनविपरीत शुल्क लिने विद्यालयमाथि कारबाही गर्ने, जनता माध्यमिक विद्यालय नजिकका अव्यवस्थित विद्युत् तार साउन ५ भित्र व्यवस्थापन गर्ने, ट्राफिक व्यवस्थापन सुधार गर्ने तथा लागूऔषधविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ।

सार्वजनिक सुनुवाइको सहजीकरण बास नेपालका कार्यक्रम अधिकृत रविन्द्र बोहराले गरेका थिए। कार्यक्रममा बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले स्वागत तथा उद्देश्यबारे प्रकाश पारेका थिए भने जनसम्पर्क अधिकृत माधव काकीले नागरिक प्रतिवेदनपत्र र बहिर्गमन अभिमतको नतिजा सार्वजनिक गरेका थिए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले आर्थिक वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

ads
ads
add
banner add

सम्बन्धित खबर