बुध, ३० वैशाख २०८३ / May 13, 2026, Wednesday
बुध, ३० वैशाख २०८३
Advertisement
banner add

शिक्षामा गुल्मी जिल्लाकै उत्कृष्ट बन्दै मादाने र धुर्कोट गाउँपालिका

banner add
writter
मङ्गल, २९ वैशाख २०८३
(Shares)

स्थानीय सरोकार/गुल्मी । गुल्मी जिल्लाका मादाने र धुर्कोट गाउँपालिकाले शिक्षा क्षेत्रको सुधार र गुणस्तरीय सिकाइ वातावरण निर्माणमा उल्लेखनीय प्रगति गर्दै जिल्लाकै उत्कृष्ट स्थानीय तहको पहिचान बनाएका छन् । सामुदायिक विद्यालयको अवस्था सुधारदेखि विद्यार्थीको नियमितता, शिक्षक व्यवस्थापन र शैक्षिक पूर्वाधार विकाससम्मका क्षेत्रमा यी पालिकाले देखाएको सक्रियता प्रशंसनीय छ ।

जिल्लाका स्थानीय तहहरूमध्ये शैक्षिक नतिजामा मादाने गाउँपालिका पहिलो बनेको छ । सार्वजनिक गरिएको पालिकागत परीक्षा नतिजा विश्लेषणअनुसार मादानेले ८७.२६ प्रतिशत उत्तीर्ण दरसहित जिल्लामा उत्कृष्ट स्थान हासिल गरेको हो ।

नतिजाअनुसार मादाने गाउँपालिकाबाट परीक्षामा सहभागी ३१४ विद्यार्थीमध्ये २७४ जना उत्तीर्ण भएका छन् । त्यसैगरी धुर्कोट गाउँपालिका ८३.१२ प्रतिशत नतिजासहित दोस्रो स्थानमा रहेको छ । धुर्कोटबाट सहभागी ३०८ विद्यार्थीमध्ये २५६ जना उत्तीर्ण भएका छन् ।

चन्द्रकोट गाउँपालिका ८३.०१ प्रतिशत उत्तीर्ण दरसहित तेस्रो स्थानमा रहेको छ । चन्द्रकोटबाट २५९ विद्यार्थी सहभागी भएकामा २१५ जना उत्तीर्ण भएका छन् ।

त्यसैगरी रेसुङ्गा नगरपालिका ७९.८३ प्रतिशतसहित जिल्लाको चौथो स्थानमा रहेको छ । रेसुङ्गाबाट ५९० विद्यार्थीमध्ये ४७१ जना उत्तीर्ण भएका छन् ।

अन्य पालिकामध्ये मालिका गाउँपालिकाको ६९.२ प्रतिशत, गुल्मीदरबारको ६७.३९ प्रतिशत, सत्यवतीको ६५.४१ प्रतिशत, छत्रकोटको ६०.८६ प्रतिशत, कालीगण्डकीको ४४.९५ प्रतिशत र इस्मा गाउँपालिकाको ४१.२६ प्रतिशत नतिजा रहेको छ ।

शिक्षा क्षेत्रमा मादाने र धुर्कोटले हासिल गरेको उपलब्धिलाई जिल्लाभर सकारात्मक रूपमा हेरिएको छ । स्थानीय तहले विद्यालय व्यवस्थापन, शिक्षक परिचालन र विद्यार्थीको सिकाइ उपलब्धिमा दिएको प्राथमिकताका कारण नतिजामा सुधार आएको सरोकारवालाको भनाइ छ ।

 नेपालको सार्वजनिक शिक्षा प्रणाली पछिल्लो समय अनेक चुनौतीसँग जुधिरहेको अवस्थामा केही स्थानीय तहले भने सकारात्मक उदाहरण प्रस्तुत गरिरहेका छन् । मादाने र धुर्कोटले शिक्षालाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई दीर्घकालीन सामाजिक रूपान्तरणको आधार मानेर नीति र कार्यक्रम अघि बढाएका देखिन्छन् । विद्यालयमा भौतिक संरचना निर्माण, प्रविधिमैत्री शिक्षण, छात्रवृत्ति व्यवस्था तथा अभिभावकसँगको समन्वयले शैक्षिक वातावरण सुधारिएको छ ।

विशेषगरी सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउने प्रयास उल्लेखनीय देखिन्छ । शिक्षकको उत्तरदायित्व बढाउने, विद्यार्थीको सिकाइ उपलब्धि मूल्याङ्कन गर्ने र अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्ने कार्यले शिक्षामा सकारात्मक प्रभाव परेको छ । स्थानीय तहले आफ्नो प्राथमिकतामा शिक्षा राख्दा परिणाम पनि उत्साहजनक आउन सक्छ भन्ने उदाहरण यी दुई गाउँपालिकाले दिएका छन् ।

शिक्षामा लगानी भनेको भविष्यमा लगानी हो । स्थानीय सरकारको सही सोच र योजनाले ग्रामीण क्षेत्रमै गुणस्तरीय शिक्षा सम्भव छ भन्ने सन्देश मादाने र धुर्कोटले दिएका छन् । अब आवश्यकता यी उपलब्धिलाई स्थायी बनाउने, अझ प्रभावकारी कार्यक्रम विस्तार गर्ने र जिल्लाका अन्य पालिकाले पनि यस्ता अभ्यास अनुसरण गर्ने हो ।

गुणस्तरीय शिक्षा बिना समृद्ध समाज निर्माण सम्भव हुँदैन । त्यसैले शिक्षा सुधारलाई राजनीतिक नाराभन्दा माथि उठाएर व्यवहारिक कार्यान्वयनमा केन्द्रित गर्न सकिए मात्र समग्र समाजले सकारात्मक परिवर्तनको अनुभूति गर्न सक्छ । मादाने र धुर्कोटले सुरु गरेको यो सकारात्मक अभ्यास जिल्लाभर फैलिनु आजको आवश्यकता हो ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर