अर्घाखाँची । मालारानी गाउँपालिका ले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न/गराउन सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ ।
गाउँपालिकाले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण रोक्न सूचना जारी गरिएको जनाएको हो ।
सूचनामा गाउँपालिका तथा मातहतका निकायहरूको स्वामित्वमा रहेका सरकारी तथा सार्वजनिक जग्गा कुनै व्यक्ति वा संस्थाले अनधिकृत रूपमा भोगचलन वा उपयोग गरेको पाइएमा यथार्थ विवरण पेश गर्न आग्रह गरिएको छ ।
त्यस्तै, सार्वजनिक स्थल, ऐलानी जग्गा, बाटोघाटो, नदीकिनार तथा अन्य सरकारी सम्पत्तिमा अतिक्रमण नगर्न गाउँपालिकाले सबैलाई अनुरोध गरेको छ ।
गाउँपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण सबै नागरिकको दायित्व भएको उल्लेख गर्दै अतिक्रमण गरेको पाइए कानुन बमोजिम आवश्यक कारबाही गरिने चेतावनी समेत दिएको छ ।