धनकुटा नगरपालिका–४ स्कुलडाँडास्थित कोशी लोकमार्गमा सोमबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका सुनसरीको रामधुनी नगरपालिका–९ झुम्का स्थायी घर भई हाल धनकुटा नगरपालिका–७ सब्जीलाइनमा बसोबास गर्दै आएका ५५ वर्षीय विशाल चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उहाँको जिल्ला अस्पताल धनकुटामा बिहान करिब ९ बजे निधन भएको हो।
यसै दुर्घटनामा धनकुटा नगरपालिका–१ हिलेका ३२ वर्षीय श्याम तामाङ घाइते भएका छन्। प्रारम्भिक उपचारपछि उहाँलाई थप उपचारका लागि धरानस्थित B.P. Koirala Institute of Health Sciences पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहान करिब ७ः३० बजे धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २५ प १७७ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिएका छन्।