पर्यटनको
राजधानीका रूपमा परिचित पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा
कार्यक्रममा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै ‘एक पर्यटक, एक मित्र अभियान सञ्चालन गर्ने
घोषणा गरेको छ। पर्यटकलाई स्थानीय समुदायसँग जोड्दै सुरक्षित, मैत्रीपूर्ण र स्मरणीय अनुभव
प्रदान गर्ने उद्देश्यले ल्याइएको यो अभियानले पोखराको पर्यटन क्षेत्रलाई थप
व्यवस्थित र आकर्षक बनाउने अपेक्षा गरिएको छ।
महानगरले पर्यटन पूर्वाधार विस्तार, गन्तव्यहरूको प्रवर्द्धन, सांस्कृतिक सम्पदाको संरक्षण तथा
स्थानीय युवालाई पर्यटन गतिविधिसँग जोड्ने योजनासमेत अघि सारेको छ। एक पर्यटक, एक मित्र अभियानमार्फत पर्यटकलाई
स्थानीय भाषा,
संस्कृति, रहनसहन र पर्यटकीय जानकारी उपलब्ध
गराइने विश्वास गरिएको छ।
पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यस्ता कार्यक्रमले स्थानीय रोजगारी, व्यवसाय तथा आर्थिक गतिविधि विस्तारमा सकारात्मक योगदान पुर्याउने देखिन्छ। महानगरको यो पहल सफल कार्यान्वयन हुन सकेमा पोखराको पर्यटन ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउन मद्दत पुग्नेछ।